© २०२३
काठमाण्डौ, ६ भदौ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरूमा कामप्रति आवश्यक मनोवृत्ति देखिन छाडेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री न्यौपानेले कर्मचारीहरूले नियमित सेवा प्रवाहभन्दा बढी समय लोकसेवा परीक्षाको तयारीमा खर्चिने प्रवृत्ति बढ्दै गएको बताइन् ।
धेरै कर्मचारीको ध्यान हाजिर लगाउने र बाँकी समय आफ्नो वृत्तिविकासका लागि लोकसेवा तयारीमा खर्चिनेमा केन्द्रित रहेको मन्त्री न्यौपानेले टिप्पणी गरिन ।
उनले सबै पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने भन्ने सोच व्यवहारिक नभएको धारणा राखिन्। सबै तहमा खुला प्रतिस्पर्धा गर्दा कार्यालयहरू पढ्ने र रट्ने थलो मात्र बन्ने उनले बताइन ।
संघीय मामिला मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा विधेयकमा नासु पदमा खरिदारबाट खुला प्रतिस्पर्धा गराउने प्रस्ताव राखिएको थियो । तर, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले नासुमा खुला प्रतिस्पर्धा नगर्ने सिफारिस गरेको छ ।
मन्त्री न्यौपानेले कर्मचारी व्यवस्थापनमा सुधारका लागि व्यवहारिक नीतिगत निर्णय आवश्यक रहेको उल्लेख गरिन् ।