© २०२३
बुटवल ।
चिदिका–रुपन्देही सम्पर्क समाजले यस वर्ष पनि उत्साहपूर्वक तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । परम्परागत र आधुनिक दुवै शैलीका गीत–नृत्यले सजिएको कार्यक्रममा सहभागी महिलाहरू रातो–हरियो पोशाक र श्रृङ्गारमा झल्किँदै तीजको उल्लास बाँडेका थिए ।
कार्यक्रमको शुभारम्भ बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले गरेकी थिइन् । उनले तीज पर्वलाई महिला अधिकार, सामाजिक समावेशिता र सांस्कृतिक पहिचानसँग जोडेर व्याख्या गर्दै यसले आपसी आत्मीयता बलियो बनाउने बताइन् ।
समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम अर्याल, निवर्तमान अध्यक्ष केशवराज पन्थी र पूर्वअध्यक्ष इश्वरी ज्ञवालीले क्रमशः शुभकामना मन्तव्य दिँदै तीजजस्ता पर्वले आपसी भेटघाट, आत्मीयता र सामूहिकता बढाउने बताए । समाजकी अध्यक्ष गीता ज्ञवालीले तीज मिलनलाई महिलाको मात्र पर्व नभई सबै सदस्यलाई एउटै सूत्रमा बाँध्ने अवसरका रूपमा प्रस्तुत गरिन् ।
कार्यक्रम संयोजनमा सक्रिय भूमिका कमल भण्डारीले निर्वाह गरेका थिए भने सचिव हेमनाथ ज्ञवालीले पनि आफ्नो धारणा राखेका थिए । सहभागीहरूले कार्यक्रममा घर सम्झाउने लोकधुनदेखि नयाँ पुस्ताले गाएको आधुनिक तीज गीतसम्मका प्रस्तुति प्रस्तुत गर्दै उल्लास बढाएका थिए ।

सांस्कृतिक रमझमसँगै भेटघाट र अनुभव आदान–प्रदानको अवसर बनेको यो कार्यक्रममा समाजका सदस्यहरूले तीज मिलनलाई आफ्नो मौलिक संस्कृति जोगाउने र विदेशमा रहेका नेपालीलाई समेत आत्मीयतासँग जोड्ने माध्यमका रूपमा लिएका छन् ।
समाजले आगामी दिनमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।