© २०२३
सल्यान, ०५ भदौ ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ६ निवासी युवराज थापाको घरपरिवार विगत तीन वर्षअघिदेखि आँसुमै डुब्यो । वैदेशिक रोजगारीका लागि २०७९ सालमा दुबई पुगेका मान बहादुर थापाको छोरा युवराज त्यहाँको हायात होटलमा लाइफ गार्डका रूपमा कार्यरत थिए ।
तर त्यही स्विमिङ पुलमा सन् २०२३ मा कङ्गोका एक नागरिकको हृदयाघातका कारण मृत्यु भएपछि दुबईको अदालतले उनलाई दोषी ठहर गर्दै मृतकका हकवालालाई ब्लडमनीमार्फत करिब ८६ लाख रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने फैसला गरेको थियो ।
आर्थिक अवस्था कमजोर भएकाले उक्त जरिवाना परिवारले आफैँ तिर्न सक्ने सम्भावना थिएन । श्रीमानको जीवन सङ्कटमा परेको देखेपछि श्रीमती अञ्जना थापाले आँसु पोख्दै सबैसँग सहयोगको अपिल गरेकी थिइन् । उनले भनिन्, “हामीसँग पैसा थिएन, श्रीमान् गुमाउँछौँ जस्तो लाग्थ्यो ।
सबै नेपाली दाजुभाइ दिदीबहिनीले सहयोग नगरेको भए आज यो दिन देख्न पाउँदैनथ्यौँ । धन्यवाद सायद उहाँहरूको ऋण तिर्न सकिँदैन ।” छोरा पाउने आशा मारिसकेका बुवा आमाले पनि समाज, सहयोगी हातहरू र मिडियाको सहयोगका कारण छोरालाई फेरी पाएको बताउँछन् ।
८६ लाख रुपैयाँ ब्लड मनी तिरेर युवराज घर फर्किएका हुन् । श्रीमती अञ्जनाका अनुसार आर्थिक अवस्था कमजोर भएकाले परिवारले त्यो जरिवाना आफैँ तिर्ने सम्भावना थिएन । तर श्रीमानलाई बचाउनका लागि घरपरिवारले आँसु पोख्दै सबैसँग अपिल गरेको थियो । घटना सन् २०२३ मा भएको थियो ।
यो पीडादायी अवस्थाबाट थापाको परिवारलाई जोगाउन त्रिवेणी गाउँपालिकासहित जिल्लाका अन्य पालिका र देशभरका नेपालीहरूले सक्दो सहयोग गरेका थिए । गाउँपालिकाको अपिल, विभिन्न सञ्चारमाध्यमको पहलमा विभिन्न संस्थाका, जनप्रतिनिधि र व्यक्तिहरूले सहयोग रकम सङ्कलन गरी करिब ८१ लाख रुपैयाँ जुटाइएको थियो ।
बाँकी रकम परिवारले आफैँ मिलाएर ब्लड मनी बुझाएपछि थापा दुबईको कारागारबाट मुक्त भई स्वदेश फर्किन सफल भएका हुन् । त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतसहित जनप्रतिनिधि र स्थानीयबासीहरूले मंगलबार युवराजलाई गाउँपालिकामा स्वागत गरेका थिए ।
युवराज लगायत उनका परिवारका सदस्यहरूले भौतिक, नैतिक र आर्थिक रूपमा सहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन् । युवराजले भने “आफूले गल्ती नगरेको घटनामा पनि दोषी ठहर भएर हैसियत नभएको र कल्पना नै गर्न नसकिने ठुलो रकम तिर्नुपर्याे ।
यस्तो अवस्था कसैलाई पनि नआओस् । मेरो ज्यान जोगाएर घरसम्म फर्कने अवस्थाको सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।”