© २०२३
सुर्खेत, ५ भदौ ।
सुर्खेतमा चलिरहेको लोकसेवा आयोगको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुई जना सट्टामा परीक्षा दिन आएका र दुई जना अन्यलाई परिक्षा दिन लगाउने चारैजनालाई नियन्त्रणमा लिएको छ ।
सुर्खेत वीरेन्द्रनगर–७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चार इन्जिनियर प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षा सञ्चालन भइरहेका बेला प्रहरीले दुई नक्कली परिक्षार्थी सहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता मोहनजंग बुढ्थापाका अनुसार पक्राउ पर्नेहरू अन्य व्यक्तिको नाममा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन प्रवेश गरेका थिए । प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई परीक्षा हलबाटै नियन्त्रणमा लिई लिखत तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेकामध्ये जाजरकोट, छेडागाड नगरपालिका, १२ बस्ने धर्मराज चुनराको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपालिका–७, सामाकोट बस्ने श्याम संकर सिंह, दैलेख, भगवतीमाई गाउँपालिका–५ बस्ने सुशिल शाहीको सट्टामा परीक्षा दिन आएका सोही पालिकाकै वडा नं ७ बस्ने भरत तिरुवा रहेका छन् । अन्य दुईजनाको विवरण प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।