© २०२३
काठमाडौँ, ५ भदौ ।
बिहीबार सेयर बजारमा कारोबार रकम ५ अर्ब २ करोड रुपैयाँमा खुम्चिएको छ । साउन ११ गते २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो, तर तीन साताको अन्तरालमै कारोबार ८१ प्रतिशतले घटेको हो ।
साताको सुरुवातमा आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएको थियो भने सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोड र बिहीबार ५ अर्ब २ करोड रुपैयाँमा झरेको छ ।
आज नेप्से परिसूचक ९.२२ अङ्कले घटेर २७५७ विन्दुमा पुगेको छ । कारोबारको क्रममा दिउँसो १२:१० बजे परिसूचक २७७५ अङ्कसम्म पुगेको भए पनि अन्त्यतिर ओरालो लागेको हो ।
कुल ५३ कम्पनीको शेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ । बजारमा निर्जीवन बिमा बाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बिमा समूह ०.१४ प्रतिशतले वृद्धि भएको हो, भने बाँकी सबै समूहको गिरावट दर १ प्रतिशतमुनि सीमित रह्यो ।
बैङ्किङ समूह ०.११, विकास बैङ्क ०.६५, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.५२, लगानी ०.२६, जीवन बिमा ०.३२, उत्पादन तथा प्रशोधन ०.१८, माइक्रो फाइनान्स ०.२१, अन्य ०.५२ र व्यापार समूह ०.६४ प्रतिशतले घटेका छन् ।
हालै सूचीकृत विकास हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३५३.४० रुपैयाँ पुगेको छ । सामुदायिक लघुवित्तको मूल्य ५.३७, रसुवागढी हाइड्रोपावरको २.८६, युनाइटेड अजोड इन्स्योरेन्सको २.६६ र पियोर इनर्जीको मूल्य २.६० प्रतिशतले बढेको छ ।
उता, जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा बढी ४.६५ प्रतिशतले घटेको छ । त्यसै गरी सयपत्री हाइड्रोपावर ४.५३, पञ्चकन्या माई हाइड्रोपावर ३.०८ र अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य ३.०४ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, बलेफी हाइड्रोपावर, बुटवल पावर कम्पनी र हिमालयन डिस्टिलरी रहेका छन् ।