Butwal Today

एमाले जन्मनुभन्दा अगाडिदेखि म कम्युनिष्ट आन्दोलनमा थिएँ: पूर्वराष्ट्रपति भण्डारी

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, ५ भदौ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)  एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको दाबी गरेकी छिन् ।

बिहीबार काठमाडौँको थापाथलीमा आयोजित एक सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले आफ्नो राजनीतिक यात्रा र एमालेको गठनअघि देखिको अनुभव साझा गरेकी हुन् ।

‘मैले सबै कुरा नजिकबाट हेरिरहेकी छु । म पनि राजनीतिक दलसँग आबद्ध थिएँ, र हामी सुरु हुँदा नेकपा एमाले भन्ने पार्टी जन्मिएको थिएन,’ भण्डारीले भनिन्, ‘म भोजपुरमा जन्मिएकी, धनकुटामा “रातो झन्डा ग्रुप” भन्ने थियो,  हामी त्यसको सम्पर्कमा थियौँ । बिस्तारै कोअर्डिनेशन केन्द्र बन्यो, त्यसपछि माले गठन भयो । माले स्थापनाको पहिलो सन्देश हामीले भोजपुरमा छर्यौं ।’

पूर्व राष्ट्रपति भण्डारीले अहिले नेकपा एमालेलाई एक ब्रान्डजस्तो बनाउने प्रयास भइरहेको बताउँदै यसको वास्तविक ऐतिहासिक र वैचारिक पृष्ठभूमिबारे स्पष्ट पार्न खोजेकी थिइन् ।

उनले भनिन्, ‘एमाले के हो भन्ने प्रष्ट नबुझिएला । यो एकीकृत मार्क्सवादी लेनिनवादी हो । कम्युनिस्ट पार्टीले आफ्नो विचार अगाडि उपमा जोडेको हो । हामी मार्क्सवाद र लेनिनवाद मान्नेहरू हौँ  । मार्क्सवादी भन्ने छुट्टै पार्टी थियो, माले भन्ने पनि छुट्टै थियो । पछि यी दुईबिच एकता भई “एकीकृत मार्क्सवादी लेनिनवादी” (एमाले) बनेको हो ।’

उनको भनाइमा अहिलेको एमाले एक ब्रान्डझैँ लागे पनि यसको वास्तविक नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो भन्ने स्पष्टीकरण पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?