© २०२३
तिजको खाजा मिठो पोलेका तामाले
नरोउ भान्जी लिन आउँला भन्थे मामाले ।
मामा आउँछन भनेर बाटो हेरी कुरेर
किन आउँथे पापी मामा माइजु छोडेर ।
यतिखेर तिजले बजार तातेको छ । अचेल तिज आउन एक महिना पहिलेदेखि नै महिला दिदी बैनीहरूको दर खाने कार्यक्रम चलिरहेको छ । यो चाड बिशेषगरि महिलाहरूको मात्र भनेर चिनिने गर्छ । यस पर्वमा हिन्दू नारीहरूको जमघट राम्रै हुने गरेको छ ।
यो जमघटमा बिगतका दिनहरूदेखि नै लामो समयदेखि भेट नभएका दिदी बैनीबीच भेटघाट हुने र भलाकुसारी गर्ने गरेको देख्न सकिन्छ । तिजलाई हिन्दु महिलाहरूको महान पर्वको रूपमा लिने गरिन्छ । यो भनिरहँदा पाटी तथा संघ सँस्थामा आवद्ध कुनैपनि धर्म मान्ने महिलाहरूले पनि यो तिज कार्यक्रममा भाग लिने र दर खाने, नाँच्ने गाउनेमा भाग लिने गर्दछन ।
जसले गर्दा तिज हिन्दु महिलाको मात्र नभएर सम्पुर्ण जाति र भाषाका महिलाहरूको पर्व हुन पुगेको छ । बर्षदिनमा एकपटक आउने पर्व तीजले यतिखेर सबैमा उमंग ल्याएको छ ।
आँगनीको डिलमा बसी काली कौवै करायो
केकुमा समाचार ल्यायो बरिलै ।
पहिलो समाचार कागतुको चिर्कटो
दोसरी खबर तिम्लाई लिन हो ।
मेरो माया हुँदो हो त बाबा लिन आउँदा हुन
कागतुको चिर्कटाले जान्न बरिलै ।
कुनै बेला थियो दिदी बहिनीहरूले गाउने यस्ता गितले सबैको मन छुने गथ्र्यो । बर्षको एकपटक आउने हरितालिका तिजले आफ्नै मौलिकता बोकेको पाइन्छ । परापूर्व कालदेखि मान्दै र मनाउदै आएको तिज पर्व परम्परा धान्ने मात्र नभएर लोक संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने मान्यता बोकेको पाइन्छ ।
हरितालिका तीज बिशेषगरी दर खाने दिन, रमाइलो गर्ने दिन, बर्त बस्ने दिन र ऋषि पंचमीको पुजा गर्ने दिन गरी पाँच दिन मनाउने हो भनेर बुझने गरिन्छ । यो भनिरहंदा करिब दुई दशकदेखि यो पर्व महिना दिनको हुन पुगेको छ ।
महिना दिनभरिनै दर खाने नाममा पनि यसलाई मनाउने गरिएको छ । बिभिन्न पार्टीका महिला संघ र संगठनहरूले तिन दशक पहिलेदेखि महिलाका हक अधिकारका बिषय उठान गरेर महिलाका पीर ब्यथाहरूलाई तिज गीतमार्फत महिलाको बाक्लो उपस्थितिमा ब्यक्त गर्दै नाच्दै मनाउदै आएका थिए ।
पछिल्लोसमय टोल संस्था पार्टीहरू र संघ संस्थाहरू गर्दै महिना दिन मनाउने र तीजका नाममा दर खाने नाच्ने गाउने चलनमा परिणत भएको छ । हिंजोका दिनमा र अहिलेको अबस्थामा तिजले धेरै रंग बदलेको छ ।
बिगतमा छोरी चेलीलाई सानोमा बिबाह गर्दिने चलन थियो । टाढा टाढा अर्काको घर पुगेका चेलीहरूलाई तिजमा लिन जाने चलनले ठूलो महत्व राख्ने गर्दथ्यो । यातायातको ब्यबस्था नभएको अबस्थामा बाटाघाटा पनि राम्रा थिएनन ।
पैदल हिंडेर उकाली ओराली र घनघोर जंगलको बाटो असिन पसिन गर्दै लिन जानुपथ्र्यो । कुनै कारणबश लिन नआए छोरी चेली धरधरी रोएर तिजको भाकामा मनका बह पोख्दथे । धेरै दुःख कष्ट गरेर दिदी बैनी वा छोरीलाई लिन जाँदा पनि नपठाए मन खिन्न पारेर दाजुभाई वा बाबु फर्किने गर्थे र त्यो पनि एउटा दुःखदायी दिन हुने गथ्र्यो । यसै पिडामा आधारित मौलिक तिजका गीत गाएर तिजको डांडो घन्किने गथ्र्यो ।
खर काटेको खरान गाइभैंसीलाई चरन
घोंडिलाई चरन चौर बरीरै ।
म एउटी छोरीलाई नौं डाँंडा कटायौ
हाम्रा बाबा के दयालु छौर बरिलै ।
जस्ता गीतले धेरै आमा बाबुको मन छुने गर्दथ्यो । हाम्रो चाल चलन, रितीथिती, परम्परा अनुसार छोरीहरूलाई बिबाह गरेर टाढा पठाउने चलनले गर्दा दश भाई छोरा जन्म घर अटाउने एउटा भएको छोरीलाई पराई घर पठाउनु पर्ने बाध्यतालाई यस्ता गीतले छुने गर्दथ्यो ।
सानै उमेरमा पराइघर गएपछि ढिंकी जांतो र बस्तुभाउ सबै समाल्नुपर्ने छोरी चेलीलाई सारै कष्ट थियो । यसैले गर्दा बर्ष दिनको तिजमा माइतीमा गै तिज गीतमार्फत मनका पिडा र बिलौना पोख्ने गर्थे र केही दिन भए पनि आमाले पकाएको खाना,खाजाखाएर आराम गर्ने गर्दथे ।
तीज आयो भनेर सबै जान्छन माइत
हाम्रा माइती मुग्लान पसे छैन साइत ।
माइती मेरा हुंँदा तिजमा माइत जाँंदी हुँ
आमाले पकाएको दर खांँदी हुँ ।
यस्ता गीतहरू महिलाहरूले गाउने गर्थे । गाउँं पहाडमा डांँडाका चौपारी र चौर तीजका महिलाले भरिएर रातै रातै रंगिन्थ्यो । धेरै पछि भेट भएका बालसखासंग गित गाएर छमछम नाचेर रात पार्ने चलन थियो र बल्ल तिज आएजस्तो लाग्थ्यो ।
पछिल्लोसमय युटुबबाट स्पीकरमा बज्ने रेकर्डेड गीत अनि त्यसैमा तिजको गीत पनि दोहोरीमा परिणत भएको छ । पुरानो तीजको झझल्को मेटाएको छ । हुन त बिगत जस्तो अहिलेको अवस्था छैन, हातमा ठेला थाप्लोमा नाम्लोको डाम जस्ता कुराहरू देख्न बिकट गाउंँतिर लाग्नुपर्छ ।
अहिले प्रायका हातहातमा मोबाइल फोन छन । जेसिभीले भिरपाखा खनेर बाटो बनाइएको छ । प्रायजसो घरका मानीस बैदेशिक रोजगारमा छन । बिगतमा जस्तो तिजमा लीन आएनन भनेर रुनु पर्दैन र लिन आउने र नआउने बारेमा पनि छिन भरमा मोबाइलले बताइहाल्छ । दाजुभाइ दिदीबैनी सबैलाई सजिलो भएको छ ।
यो बर्ष तिज मनाउने शैलीमा परिवर्तन आएको छ । करिब पन्ध्र दिनदेखि तिजको दरको चहलपहल बढदै जांदा सो कार्यक्रममा हिंडदै गरेका महिलाहरूमा भडकिलो तरिकाले गरगहना र कपडामा सजिएको पाइएन, महंगा टिकट बेचेर सस्तो दर खुवाएर केही समय चलेको खेलो चलेको देखिएको छैन ।
यसलाई अब तिज सभ्य बन्दै गएको महसुस धेरैले गरेका छन । यसलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । दरका नाममा अन्य पेय पदार्थ खाने मात्तिने जस्ता कुरा हटेका छन । सरल र सभ्य ढंगले तिज मनाएको देखिएको छ ।
केहीले भन्ने गर्छन महिलालाई तिज मनाउन पार्टी प्यालेस चाहिने, महिना दिनदेखि तिज मनाउनुपर्ने, यो सबै समयको खेल हो । यसलाई बाध्यता पनि भन्नुपर्छ । हिंजोको दिनमा गाउँका पाटी पौवा चौपारीमा तिज मनाइन्थ्यो ।
तिज मात्र एक दिन नाचेर सकिन्थ्यो । अहिले त्यो जमाना रहेन । मानिसको बसाई शहर बजारमा स¥यो जहां गर्मीको उत्पात छ । बाटो छेउछाउका चौपारी बाटो ठूलो बनाउने सिलसिलामा मासिए । बढदो जनसंख्या खुल्ला आकाशमा तिजका गित गाएर नाच्न सम्भव भएन । जस्ले गर्दा पार्टी प्यालेसको जरुरत पर्यो । यो सबै समयको माग हो ।
अर्को महिना दिन मनाउने भनिन्छ । हिंजो जस्तो माइतीमा एक दिन दर खाएर सकिने तिजमा परिवर्तन आयो । संघ संस्था पाटीहरू सबै ठाउंमा रहेका महिलाहरू माझ तिज पुग्यो, ठाउं समय सबैको ब्यबस्थापन मिलाउने सिलसिलामा कहिले कसको पालो कहिले कसको यही तरिकाले तिज लामो बन्दै गएको छ ।
जे गर्यो समयले गर्यो भनेर बुझ्दा राम्रो हुने देखिएको छ । जे होस तिज मनाउने बहानामा महिला दिदी बैनीको भेटघाट भएको छ । परिचय खुलेको छ । जसलाई हामी सकारात्मक रूपमा लिनुपर्छ ।
हो अझैपनि आर्थिक मन्दीको चपेटामा बिश्वनै परेको छ । यो अबस्थामा तिजको नाममा हुने खर्चमा मितव्ययीता अपनाउनु पर्छ । छोटो मिठो सभ्य ढंगले तीज मनाउनु पर्छ । यो सबै भन्दाभन्दै पनि उसले ग¥यो, हामीले किन नगर्ने भन्ने प्रतिस्पर्धामा तीज मनाउने गरिएको छ ।
जसले गर्दा महिना दिन तिज भन्न सजिलो भएको छ । अर्को महिलालाई तिजको दर खुवाउने बहानामा पुरुषहरूलाई दाउ परेको छ । कतिपय ठाउंमा महिलाबाट केही रकम उठाएर दर खुवाउने ठाउंमा पुरुषको लर्को देखिने गरेको छ ।
केही पुरुष सहयोग गरेर पुग्छन भने केही लहैलहैमा पुगेर दर खाने गरेका देखिन्छन । हो महिलाले मात्र खानु पर्छ भन्न खोजिएको होइन, धेरै ठाउंमा तिज हुँदा खानेको नभै हुने खानेको बनेको छ । यसमा धेरैको ध्यान जानु जरुरी छ ।
दिनभर ज्यालादारी गरेर परिवार पाल्नेका लागि तिजको दर के हो थाहै छैन । हुनेहरूका निम्ति महिनाभरी दरै दर छ । यसैले सबैका निम्ति तिज पर्व बनाउनेमा ध्यान जान जरुरी देखिन्छ । यो बर्षको तिजले सबै महिलामा जागरुकता ल्याओस, परिवारमा हात थापेर खर्च चलाउन भन्दा आत्मनिर्भर भएर बाँच्न सिकाओस् ।
ऋण गरेर मिठो खाने राम्रो लगाउने भन्दा सादा जीवन उच्च विचारमा चल्न सिकाओस् । महिलाबाट महिलामा हुने हिंसामा कमी आओस् । महिला नेतृहरू पुरुष नेताको हो मा हो गरेर उच्च पदमा पुग्ने सांसद मन्त्री बन्ने होडमा लाग्नुभन्दा स्भाभिमानी आफ्नै बलबुताले अघि बढ्ने सदबुद्धी जगाओस ।
महिला भएकै कारण अन्याय अत्याचार खेप्न नपरोस् । प्रत्येक बर्ष सबै अटाउने गरेर तिज मनाउन पाइयोस् । सवै महिला दिदी बहिनीहरूमा यो बर्ष तिजको शुभकामना ।