Butwal Today

सम्पूर्ण प्रयासका बाबजुद जोशीको अवस्था थाहा पाउन सकिएन: परराष्ट्र मन्त्रालय

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ५ भदौ ।

सरकारले गरेको सम्पूर्ण प्रयासका बाबजुद पनि विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विपिनको रिहाइका लागि भइरहेको कूटनीतिक पहलको विवरण सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विपिन जोशीको अवस्थाबारे हालसम्म कुनै पुष्टि हुन सकेको छैन । यसै क्रममा उहाँकी आमा र बहिनी हाल इजरायल पुग्नुभएको छ । उहाँहरूले त्यहाँका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, इजरायलका लागि अमेरिकी राजदूत तथा अन्य पीडित परिवारका सदस्यहरूसँग भेटघाट गरी विपिन जोशीको रिहाइका लागि आवाज उठाउनु भएको छ । उउहाँहरूको भ्रमणको सहजीकरण इजरायलस्थित नेपाली राजदूतावासबाट भइरहेको व्यहोरा पनि अनुरोध छ ।’

मन्त्रालयले विपिनको रिहाइलाई उच्च प्राथमिकता दिँदै विदेशस्थित सबै नेपाली राजदूतहरूलाई सक्रिय बनाइएको स्पष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस विषयलाई अत्यन्त संवेदनशीलताका साथ लिइएको छ । मन्त्रालयले विदेशस्थित सम्पूर्ण नेपाली राजदूतहरूलाई त्यहाँ रहेका आफ्ना कतारी तथा इजिप्सियन समकक्षीसँग भेटघाट गरी नेपाल सरकारको औपचारिक अनुरोध सम्बन्धित मुलुकको सरकारसम्म पुर्‍याउन निर्देशन दिएको छ । सोही अनुसार प्राप्त प्रतिवेदनहरूमा नेपाल सरकारको गम्भीर चासो संप्रेषण गरिएको उल्लेख छ ।’

यसै क्रममा, जेनेभास्थित नेपाली राजदूतले अन्तर्राष्ट्रिय रेडक्रसका वरिष्ठ पदाधिकारीसँग भेट गरी विपिन जोशीको रिहाइको सम्भाव्यताका विषयमा छलफल गरेको मन्त्रालयले जनाएको छ । इजरायल र कतारमा कार्यरत नेपाली राजदूतहरूले समेत यस विषयलाई आफ्नो प्रमुख कार्यभारको रूपमा लिएर काम गरिरहेको जानकारी गराइएको छ ।

त्यस्तै इजरायल र हमासबीच दोस्रो पटक भएको अल्पकालीन युद्ध विरामको मन्त्रालयले यसको स्वागत गर्दै मध्यस्थकर्ता मुलुकहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरूलाई विपिन जोशीलाई रिहा हुने बन्दीको सूचीमा राख्ने विषयलाई प्राथमिकता दिन सम्बन्धित सरकारमार्फत् बारम्बार अनुरोध गरेको उल्लेख गरेको छ ।

सरकारले विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि विविध माध्यमबाट गरिरहेको प्रयास अझै जारी रहेको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?