Butwal Today

निकुञ्जको टोलीद्वारा वयस्क चितुवा नियन्त्रणमा

५ भाद्र २०८२, बिहीबार
अ+
अ-

बर्दिया, ५ भदौ ।

बर्दियाको मधुवन नगरपालिका–२ स्थित बस्ती नजिकै देखिएको एक वयस्क भाले चितुवालाइ नियन्त्रणमा लिइएको छ । चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाको डार्ट टोलीले बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।

चितुवालाइ बर्दियाको चमेली गौरी सामुदायिक वन क्षेत्रमा स्थानीयले बिहान करिब ७ बजे झाडी सरसफाइ गर्ने क्रममा देखेका थिए । सो घटनाबारे जानकारी दिएपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट पाँचवटा हात्ती परिचालन गरिए पनि चितुवा नभागेपछि डार्ट गन प्रयोग गरेर नियन्त्रणमा लिइएको हो ।

प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालय वर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया, नेपाली सेना जबर जंग गण ठाकुरद्वारा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, चोरी सिकार नियन्त्रण एकाई र स्थानीय उपभोक्ताहरुको सहयोगमा नियन्त्रणमा लिइएको वयस्क चितुवाको लम्बाई शिरदेखि पुच्छरसम्म २ सय १७ सेन्टिमिटर, पुच्छर ९४ सेन्टिमिटर छ । चितुवाको उचाई ६२ सेन्टिमिटर रहेको बताईएको छ ।

चितुवालाई नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा लगिएको छ ।