© २०२३
कपिलवस्तु, ०४ भदौ ।
कपिलवस्तु नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि दुई दिने स्वास्थ्य सेवामा आवश्यक औषधि, सामग्री, उपकरण तथा आपूर्ति व्यवस्थापन सम्बन्धी आधारभूत तालिम (बिएलटी) तालिम शुरु गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) र कपिलवस्तु ईन्ट्रिग्रेटेड डेभलप्मेन्ट सर्विसेज (किड्स) को साझेदारीमा कपिलवस्तु नगरपालिकाले नगरका स्वास्थ्य संस्थाका प्रमुख र प्रतिनिधिलाई तालिम आयोजना गरेको हो ।
औषधि र स्वास्थ्य सामग्रीको योजना, खरिद, भण्डारण, वितरण र व्यवस्थापन गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले जानकारी दिए ।
सो अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलका निमित्त निर्देशक डाक्टर राजेन्द्र गिरीले तालिमले स्वास्थ्य सरकारी स्वास्थ्य संस्थाका सेवा प्रदायकलाई औषधिजन्य सामग्री र उपकरण व्यवस्थापनको सिप सगै सप्लाई चेन व्यवस्थापनको सिप प्राप्त हुने बताए ।
अहिले विद्यालयमा सञ्चालन गरिने आइरन र फोलिक एसिडका लागि केन्द्रको खरिद प्रक्रिया बारे केही अन्यौलता रहेका कारण सो को केही समय सम्म व्यवस्थापनको जिम्मेवारी लिन उनले स्थानीय तहसँग आग्रह गरे । आवश्यकताको आधारमा तथ्याङ्कको विश्लेषण गरेर मात्रै केन्द्र सँग आवश्यक औषधीजन्य सामग्री माग गर्न सकिए अभावको अवस्था नआउने उनले बताए ।
कपिलवस्तु जिल्लामा अझै पनि रक्तअल्पताको अवस्था गम्भिर रहेकाले आइरन र फोलिक एसिडको उपलब्धता सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जोड दिए ।
तथ्याङ्क रेकर्ड सिस्टम व्यवस्थित गरेर सप्लाई चेन प्रभावकारी बनाउन सकिने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए । उनले जिल्लामा आपूर्ति केन्द्रमा पर्याप्त औषधी र औषधीजन्य सामग्रीको उपलब्धता सुनिश्चित नहुँदा समस्या पर्ने गरेको गुनासो गरे ।
पछिल्लो समय आइरन चक्की र डिपो सुईको उपलब्धता नहुँदा समस्या परेको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले गुनासो गरे । कपिलवस्तु नगरपालिकाले फागुन महिनालाई नसर्ने रोग विरुद्धको अभियान चलाउने योजना बनाएको जानकारी दिए ।
तालिममा स्वास्थ्य सेवामा आवश्यक औषधि र सामग्री निरन्तर उपलब्ध गराउने क्षमता विकास गर्ने, औषधि तथा आपूर्ति व्यवस्थापनमा पारदर्शिता, उत्तरदायित्व र कार्यक्षमता वृद्धि गर्ने र खेर जाने वा अभाव हुने अवस्थालाई रोकथाम गर्न स्वास्थ्यकर्मीलाई सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको थियो ।
लोजिस्टिक प्रणाली परिचय, स्वास्थ्य क्षेत्रमा लोजिस्टिक व्यवस्थापनको महŒव, आपूर्ति श्रृङ्खला, आवश्यकता अनुमान, पारदर्शी र प्रभावकारी खरिद प्रक्रिया, सरकारी नियमावली र मापदण्ड, भण्डारण र गोदाम व्यवस्थापन, वितरण, रेकर्ड कीपिङ र रिपोर्टिङ, आपूर्ति व्यवस्थापनसम्बन्धी रिपोर्ट तयार गर्ने तरिका, निगरानी र सुपरभिजन, औषधि तथा सामग्रीको सही प्रयोग, गुणस्तर र उपलब्धतााथि अनुगमन गर्ने तरिका बारे सहजीकरण गर्ने जनाइएको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अधिकृत गोविन्द अर्याल, फार्मेसी अधिकृत सुरज थारु र अमृत काफ्ले लगायतले तालिममा प्रशिक्षण दिने छन् । कार्यक्रममा सहायक प्रजिअ पदमलाल लामिछाने, युएनएफपीएकी प्रतिनिधि रश्मिता पौडेल, किड्सका कार्यकारी निर्देशक कृष्ण कुमार द्विवेदी लगायतले विभिन्न सुझाव दिएका थिए ।