© २०२३
पाल्पा, ४ भदौ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति झण्डै ६० प्रतिशत पुगेको छ ।
सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङको भुइँ र भित्ताको ढलान (टनेल लाइनिङ०) कार्य तीव्र गतिमा भइरहेको छ । यस बाहेकका अन्य प्राविधिक कामहरू पनि निरन्तर अघि बढिरहेका छन् ।
सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण भइरहेको यो सुरुङमार्गको ‘ब्रेकथ्रु’ भएसँगै कार्य प्रगतिमा उल्लेख्य सुधार आएको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । पछिल्लो विवरणअनुसार भौतिक प्रगति ५९.७३ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत पुगेको छ ।
मुख्य सुरुङमार्गको भुइँ भागमा १ हजार ८९ मिटर ढलान (इनभर्ट) सकिएको छ भने दायाँ–बायाँ गरी ९ सय ९४ मिटर लाइनिङको काम सम्पन्न भएको छ । हाल थप २९२ मिटर खण्डमा लाइनिङ कार्य जारी छ ।
सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो एक सय ५१ मिटर, दोस्रो एक सय ६१ मिटर र तेस्रो एक सय ३० मिटर छ । पहिलो बाइपासमा एक सय ४५ मिटर इन्भर्ट र एक सय २४ मिटर लाइनिङको काम सकिएको छ । दोस्रो बाइपासमा इन्भर्टको काम १५७.८ र लाइनिङको काम ८.३ मिटर सकिएको छ । यस्तै सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम एक सय २५ मिटर र लाइनिङको काम १०४.२ मिटर भइसकेको छ ।
दुई लेनको मुख्य सुरुङमार्गको लम्बाइ १ हजार ८९ मिटर, चौडाइ १०.५ मिटर र उचाइ करिब ७ मिटर रहनेछ । प्रमुख अधिकारीका अनुसार सुरुङभित्र अब अत्यावश्यक कार्यका सवारी साधनहरू ओहोरदोहोर गर्न सक्ने अवस्था बनिसकेको छ ।
सन् २०७९ सालदेखि सुरु गरिएको सुरुङमार्ग निर्माण कार्य चीनको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँ लागतमा काम गरिरहेको छ ।
सुरुङमार्गको सम्पूर्ण निर्माण कार्य २०८३ सालसम्म सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।