© २०२३
नवलपरासी, ४ भदौ ।
बर्दघाट नगरपालिकाले प्रदान गरेको नगर प्रमुख छात्रवृत्ति कोषबाट यस वर्ष ३६ जना विद्यार्थी लाभान्वित भएका छन् । नगरपालिकाले शिक्षा ऐनमा समावेश मापदण्डअनुसार छात्रवृत्ति वितरण गरेको जनाएको छ ।
विभिन्न बिषयमा अद्ययनरत विद्यार्थीहरुले न्युनतम १० हजार देखि अधिकतम ६० हजार रुपैयाँ सम्म छात्रवृत्ति प्राप्त गरेका छ्न । एमबिबिएस अध्ययनरत ५ जना विद्यार्थीले ४० हजारदेखि ६० हजार रुपैयाँसम्म छात्रवृत्ति पाएको नगरपालिकाले जानकारी दिएको छ । यसबाहेक नर्सिङ, विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा लगायतका संकायका विद्यार्थीहरू समेत यसबाट लाभान्वित भएका छन् ।
छात्रवृत्ति आवेदनहरूमध्ये वडा र सम्बन्धित शैक्षिक संस्थाको सिफारिसका आधारमा गरिब, विपन्न, अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई प्राथमिकता दिँदै सर्टलिस्ट गरी वितरण गरिएको छ ।
पछिल्लो समयमा शिक्षाको गुणस्तर सुधारका लागि आम अभिभावक र विद्यार्थीहरूमा सकारात्मक ऊर्जा प्रवाह गर्न छात्रवृत्ति योजना अघि बढाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने हेतुले यो योजना ल्याएको उनले बताए ।
यस वर्ष कुल ६ लाख ५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको छ । विद्यार्थिको बैंक खातामा छात्रवृत्ति रकम पालिकाले दाखिला गर्ने सहायक शिक्षा अधिकृत धनपती पौडेलले जानकारी दिए ।