© २०२३
काठमाडौं, ४ भदौ ।
नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको न्यायिक छानबिन आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबारको बैठकमा उनले उक्त माग राखेका हुन् ।
उक्त उडान गैरनागरिक उड्डयनअन्तर्गत पर्ने भएकाले यसको छानबिन पुनः गर्न आवश्यक रहेको सांसद किराँतीले बताए । उनले हालसम्म आएको प्रतिवेदन चित्तबुझ्दो नभएको भन्दै न्याय सुनिश्चित गर्न पटक–पटक छानबिन हुनु पर्ने बताएका छन् । प्रतिवेदनमा प्राविधिक त्रुटि मात्र उल्लेख गरिएको तर के गर्नु हुँदैन थियो भन्ने कुराको कुनै उल्लेख नभएको उनले टिप्पणी गरे ।
सांसद किराँतीले जहाजको ढोका राम्रोसँग लाग्दैन भन्दा एकपटक गएर आउँ अनि बनाउँला भन्ने किसिमको लापरबाही हुने गरेको बताए ।
संरचनागत र नीतिगत सुधारका लागि मन्त्री आफैँ लाग्नुभएको बेला यो लापरबाहीपूर्ण प्रतिवेदनलाई छोड्दा देशले न्याय नपाउने जिकिर गरे ।
यसैगरी, सौर्य एयरलाइन्स दुर्घटनाको विषयमा अझ गहिरो छानबिन र कडाभन्दा कडा कदम आवश्यक रहेको सांसद किराँतीले जोड दिएका छन् ।