© २०२३
बुटवल, ४ भदौ ।
“माइजु हो भनेर पैसा पठाएँ, तर चोर पो रहेछ !” बुटवल योगीकुटीकी हिरा गुरुङ (नाम परिवर्तन) को पहिलो वाक्य हो यो । करिब एक महिना अघि उनकी माइजु रिता थापाको मेसेन्जरबाट सन्देश आयो—“अत्यावश्यक परेको छ, तुरुन्तै ४९ हजार पठाइदेउ नानी !” नजिकको परिवार भएकाले उनले कुनै शंका नगरी रकम पठाइन् । तर पछि थाहा भयो, त्यो सन्देश माइजुको होइन, ह्याकरको रहेछ । उजुरी दिएर पनि उनले रकम फिर्ता पाएकी छैनन् ।
हिरा मात्र होइनन्, रुपन्देहीका प्रहरी कार्यालयमा यस्तै घटनाले फाइलको चाङ्ग बढाइरहेका छन् । तथ्यांक अझै डर लाग्दो छ । गत आर्थिक वर्षमा मात्र ७ सय ८ वटा अनलाइन ठगीका उजुरी दर्ता भए । ठगीमा परेको रकम करिब ११ करोड ७२ लाख पुगेको छ । अनुसन्धान र सक्रियतापछि करिब २ करोड ५३ लाख रुपियाँ मात्रै पीडितलाई फिर्ता गराइएको छ । बाँकी रकम अझै हराइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्की भन्छन्, “अझै चुनौती थपिँदै गएको छ, यस वर्ष यो संख्या दोब्बर हुन सक्ने अनुमान छ ।”
उजुरीका फाइलहरू पल्टाउँदा पीडितका कथा विविध छन् । तिलोत्तमा–४ का २२ वर्षीय अमन कशौधनलाई फेसबुक पेजले ब्राण्डेड मोबाइल आधा मूल्यमा बेच्ने भन्दै १८ हजार फसाइदियो । उनले पैसा पठाए तर सामान कहिल्यै आएन र पेज हरायो । त्यस्तै तिलोत्तमा १७ की सुनिता थापालाई अज्ञात फेसबुक फ्रेन्डले अमेरिकाबाट गिफ्ट पठाइदिएको छु भन्यो । केही दिनमै भन्सार शुल्क तिर्नुपर्छ भन्दै फोन आयो । उनले २५ हजार बुझाइन् तर गिफ्ट कहिल्यै आएन । बुटवल–१२ नयाँगाउँकी माया दर्जीलाई अनलाइनमा सस्तो ब्याजमा ऋण दिने प्रस्ताव आयो । उनले नागरिकता र खाता विवरण पठाइन् । पछि खाता एक्टिभेसन शुल्क भन्दै १५ हजार मागियो र उनले बुझाइन् । तर तीन महिना बितिसक्दा पनि ऋण आएको छैन । अझ दुःखदायी त बुटवलकै ६८ वर्षीया एक महिलाको घटना हो । बेलायत जाने र उतै विवाह गरेर बस्ने प्रलोभन देखाइयो र उनले जीवनभरको जम्मा पूँजीजस्तै ४८ लाख गुमाइन् ।
यी सबै घटनाले अनलाइन ठगी व्यक्तिगत पीडामात्र नभई सामाजिक संकट बन्दै गएको प्रमाण दिन्छन् । ठगीका तरिका पनि बहुआयामिक छन् । कसैलाई सस्तो सामानको प्रलोभन देखाइन्छ, कसैको फेसबुक वा मेसिन आईडी ह्याक गरेर आफन्तसँग पैसा मागिन्छ, कसैलाई अन्तर्राष्ट्रिय लटरी र गिफ्टको झुठा सपनामा अल्झाइन्छ, कसैलाई ऋण दिने बहानामा व्यक्तिगत विवरण झिकाइन्छ भने कसैलाई अनलाइन गेमिङ र बेटिङ एपमार्फत तुरुन्तै धनी हुने सपना देखाइन्छ । यी सबैमा लक्षित हुने समूह भने प्रायः १८ देखि ३५ वर्षसम्मका युवाहरू नै हुन्छन्, जसले सोसल मिडियामा बढी समय बिताउँछन् र छिटो फाइदा हुने लोभमा पर्छन् ।
सामाजिक मनोविज्ञान पनि यसमा प्रमुख कारक बनेको छ । गाउँबाट शहर पस्ने युवाले छिटो धनी बन्ने, विदेश जाने, सस्तोमा वस्तु वा सेवा पाउने र सजिलो बाटोबाट कमाउने सपना देख्छन् । अपराधीहरूले यिनै मनोविज्ञानलाई हतियार बनाएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक धर्मराज खत्री भन्छन्, “प्रविधि आफैंमा दोष छैन । तर, यसको दुरुपयोग गर्नेहरूको चतुराई र लोभमा पर्ने युवाको मानसिकता मुख्य कारण हो ।”
प्रहरीले अनलाइन अपराध न्यूनीकरणका लागि विभिन्न कार्यक्रम थालेको छ । विद्यालय, क्याम्पस र टोलस्तरमा साइबर सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । अनलाइन अपराध अनुगमनका लागि छुट्टै साइबर हेल्प डेस्क स्थापना गरिएको छ । साथै, पीडितले तुरुन्त १०० वा ११४० मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । प्रहरीको भनाइ छ—सजगता नै मुख्य सुरक्षा हो । अज्ञात लिंक नखोल्ने, आधिकारिक कम्पनी वा वेबसाइटसँग मात्र कारोबार गर्ने, रकम पठाउनु अघि प्रत्यक्ष प्रमाण खोज्ने र व्यक्तिगत विवरण कसैसँग सजिलै बाँड्न नहुने नै सुरक्षा कवच हुन् ।
हिरा, अमन, सुनिता वा मायाजस्ता पीडितका कथा व्यक्तिगत त्रासदी मात्र होइनन्, सम्पूर्ण समाजका लागि चुनौती हुन् । प्रविधिले सहजता दिएको छ तर सचेत नभए जीवनभरको सम्पत्ति हराउने खतरा बोकेको छ । लोभ र प्रलोभनलाई नियन्त्रण गर्न सके ठगीबाट जोगिन सकिन्छ । प्रहरीको भनाइ छ—“सजगता नै मुख्य सुरक्षा हो ।” अनलाइन ठगी नियन्त्रण गर्न प्रहरी सक्रिय भए पनि अन्ततः सावधानी नागरिक आफैंले अपनाउनुपर्छ । नभए, छिटो धनी हुने सपना जीवनभरको दुःस्वप्न बन्न सक्छ ।