Butwal Today

नेपालको सहमति बेगर चीन–भारतले लिपुलेक नाका प्रयोग गर्ने सम्झौता

४ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ४ भदौ ।

चीन र भारतले नेपाललाई बाइपास गरेर लिपुलेक नाका प्रयोग गर्ने सहमति पुनः गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा मंगलबार लिपुलेकसहित तीन व्यापारिक नाका खोल्ने सहमति भएको हो ।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार एवं चीन–भारत सीमा वार्ताका विशेष प्रतिनिधि अजित डोभलको निमन्त्रणामा चिनियाँ समकक्षी वाङ सोमबार दिल्ली पुगेका थिए । दुई देशका प्रतिनिधिबीच भएको छलफलपछि भारतको विदेश मन्त्रालयले १२ बुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिको नवौँ बुँदामा भनिएको छ, ‘दुवै पक्ष लिपुलेक, सिप्की ला र नाथुला नाकामार्फत सीमा व्यापार पुनः सञ्चालन गर्न सहमत भएका छन् ।’

लिपुलेक नेपालको भूभाग हो, जसको उत्तरतर्फ चीनको तिब्बत क्षेत्र पर्छ । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो भूमि मान्दै नक्सा सार्वजनिक गरिसकेको छ । तर भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने सडक निर्माण गरी सैन्य गतिविधि र संरचना विस्तार गरेको छ ।

नेपालले विगतमा पटक–पटक चीन र भारतबीच भएको यस्ता एकतर्फी सहमतिहरूको विरोध गर्दै आएको छ । यसपटक पनि नेपाल सरकारको औपचारिक प्रतिक्रिया आउन भने बाँकी छ ।

लिपुलेक नाका भारतको राजधानी दिल्लीबाट चीन प्रवेश गर्ने सबैभन्दा छोटो मार्ग हो । यो भौगोलिक रूपमा रणनीतिक महत्वको क्षेत्र हो, जहाँ भारतले स्थायी पूर्वाधार निर्माण गरिसकेको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चीनको चिङ्ताओ सहरमा हुन लागेको साङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन तयारी अवस्थामा रहेको बेला यो सहमति भएको छ । सम्भावित रूपमा त्यहाँ प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि भेटघाट हुने अपेक्षा गरिएको छ ।

यसअघि पनि यी दुवै देशले यस्तो सहमति गर्दा नेपालले विरोध जनाउँदै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?