Butwal Today

उपसभामुख हटाउने प्रयास दुई दलीय सत्ताको खेल हो: सांसद कार्की

४ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ, ४ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुगेका कारण कांग्रेस–एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको बताइन ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस र एमालेहरूले आफ्ना सांसदलाई खाली कागजमा सही गराएको समेत बताइन । बहुमत पु¥याएर आफ्ना आसेपासेलाई नियुक्ति गर्नका लागि उपसभामुखमाथि महाअभियोग लगाउने कार्यको राप्रपाले विरोध गर्ने उनको भनाइ छ ।

उनले भिजिट भिसाको धन्दा चलाउनेलाई सरकारले संरक्षण गरेको तर सिफारिस पत्रमा हस्ताक्षर गर्ने उपसभामुखलाई महाअभियोग लगाउने काम उचित नभएको जिकिर गरिन । सांसद कार्कीले धारणा राखिरहदा एमाले सांसद सूर्य थापाले नियमापत्ति गरेका थिए ।

उनले एमाले सांसदमाथि लान्छना लगाउदै गालिगलौच भएको भन्दै आपत्ति जनाए । कस्ता कागजमा सही गराएको भन्ने ढंगको अभिव्यक्ति रेकर्डबाट हटाउन उनले माग गरे । सांसद थापाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाउदै सांसद कार्कीलाई बोल्न समय दिएका थिए । त्यसपछि सांसद कार्कीले एमाले र कांग्रेसले देशलाई दुई दलीय शासन पद्धतिमा लैजान खोजिरहेको आरोप लगाइन ।

उनले अहिले सत्तागठबन्धनमा रहेका साना दललाइ समेत कांग्रेस–एमालेबाट सचेत हुन सुझाव दिइन । उपसभामुलाई हटाउने प्रयासका कारण कांग्रेस र एमालेले संसद्को गरिमा गुमाएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?