Butwal Today

गाजामा दुई वर्षमा १८ हजार ८८५ बालबालिका मारिए

४ भाद्र २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ४ भदौ ।

इजरायलद्वारा गाजामा गरिएको आक्रमणमा परी पछिल्ला दुई वर्षमा १८ हजार ८८५ बालबालिकाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ ।

६२ हजार नागरिक मारिएकामा १८ हजार ८८५ बालबालिका रहेको अधिकारीलाई उदृत गर्दै अल जजिराले जनाएको छ। प्रत्येक महिना औसतमा ५४० भन्दा बढी बालबालिका मारिने गरेको दाबी गरिएको छ ।

इजरायली बमबारीका कारण घरबार गुमाएका हजारौं नागरिक संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित आश्रयस्थलहरूमा शरण लिन बाध्य छन् । तर, ती आश्रयस्थलमा बसेका नागरिकलाई समेत इजरायलले निशाना बनाइरहेको छ ।

यसैबीच, गाजामा युद्धविरामका लागि अमेरिकाले अघि सारेको प्रस्तावमा हमास समूहले सहमति जनाएको छ । इजरायलले गाजा पूर्ण कब्जा गर्ने गरी सैन्य तयारी तीव्र बनाइरहेका बेला हमासले युद्धविराम प्रस्ताव स्वीकार गरेको हो ।

प्रस्तावअनुसार, पहिलो चरणमा हमासले १० जना जीवित र १८ जना मृतक गरी २८ जना इजरायली बन्धक रिहा गर्ने प्रतिबद्धता जनाएको छ । यसको सट्टा, इजरायलले १४० जना आजीवन कारावास सजाय भोगिरहेका, १५ वर्षभन्दा बढी सजाय पाएका ६० जना, र साथै मुद्दा नचलाइएका सबै प्यालेस्टिनी महिला तथा नाबालिग कैदीहरूलाई रिहा गर्नुपर्नेछ ।

तर इजरायलले भने सबै बन्धकको एकैपटक रिहाइको अडान राखेको छ । इजरायली सुरक्षा अधिकारीका अनुसार, हमाससँग ५० जना बन्धक छन्, जसमा २० जना मात्र जीवित रहेको अनुमान गरिएको छ ।

इजरायलको अडान र बन्धकहरूको अवस्थाबारे देखिएको अन्योलका कारण हमासले प्रस्ताव गरेको ६० दिने युद्धविराम स्वीकृत गर्ने कि नगर्ने भन्ने विषय अनिश्चित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।