© २०२३
चितवन ।
चितवनमा जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार, साउन २३ देखि भदौ ३ गतेसम्म गरिएको नमुना परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको छ भने तीमध्ये तीनको ज्यान गएको हो ।
यो रोग खासगरी भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा देखिएको छ । जापानीज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।
चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्नका लागि सतर्क रहन सुझाव दिएका छन् । अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता आउने, शरीर काम्ने र घाँटी दुख्ने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था सम्पर्क गर्न चिकित्सकहरूले आग्रह गरेका छन् ।