Butwal Today

विपक्षी दलको निष्कर्ष – उपसभामुख हटाउने प्रयासको सशक्त प्रतिवाद गरिन्छ

३ भाद्र २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, ३ भदौ ।

संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तारूढ दलहरूको प्रयासको सशक्त विरोध गर्दै अगाडि बढ्ने निष्कर्ष निकालेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।  उनका अनुसार सत्तारूढ गठबन्धनका दलहरूले अघि बढाएको कदमलाई विपक्षी दलप्रति भएको असंवैधानिक आक्रमणको रूपमा लिइएको छ ।

आज बिहानैदेखि नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले उपसभामुख रानामगरलाई हटाउने उद्देश्यसहित हस्ताक्षर अभियान सुरु गरेका छन् । त्यसको विरोधमा विपक्षी दलहरूले संसदभित्र र बाहिर सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

प्रमुख सचेतक पाण्डेले भने, “विपक्षी दलको हिसाबले हामीमाथि गरिएको आक्रमण अनुचित छ । यस्तो प्रक्रिया यसअघि पनि प्रयास गरिएको थियो । अहिले संविधानिक परिषद्को सन्तुलन बिगार्ने नियत देखिन्छ, त्यसकारण हामी यसको सशक्त विरोधमा उत्रनेछौं ।”

उनका अनुसार यो विषय भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा उठाइने तयारी गरिएको छ । “भोलि सदनमै यो कुरा स्पष्ट रूपमा उठाइने छ,” उनले भने ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्षिप्त ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उनले सरकार निरंकुशताको बाटोमा हिँडिरहेको टिप्पणी गर्दै, “विपक्षीको घाँटी निमोठ्ने शैलीमा सरकार अघि बढेको छ,” भन्ने धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?