© 2026
काठमाडौं, ३ भदौ ।
मंगलबार सेयर बजारमा समग्र सकारात्मक संकेत देखिएको छ । नेप्से सूचकसहित सबै समूहगत सूचकहरू हरियाली देखिएका छन् । अघिल्लो दिनको तुलनामा नेप्से ६.५१ अंकले बढ्दै २,७७७ विन्दुमा पुगेको छ । सोमबार बजार ९ अंकले बढेको थियो ।
आजको कारोबार अवधिभर नेप्से दिनको उच्च विन्दु २,७९६ अंकसम्म पुगेको थियो, जुन आजकै लागि अधिकतम हो । यद्यपि, अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनाअघि सूचक ९ अंकले बढेको थियो ।
कारोबार रकम भने घट्दो क्रममा छ । अघिल्लो दिन ६ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा आजको कारोबार ५ अर्ब ६३ करोड रुपैयाँमा सीमित रह्यो । पछिल्ला केही दिनयता कारोबार रकम निरन्तर घटिरहेको छ ।
आज कुल १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ । सबै समूहका सूचकहरू हरियो भए पनि वृद्धिदर भने सबैमा १ प्रतिशतभन्दा कम देखिएको छ । बैंकिङ समूह ०.४०, विकास बैंक ०.२०, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.१६, लगानी ०.२१, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.११, अन्य ०.०९ र व्यापार समूह ०.१८ प्रतिशतले बढेका छन् ।
कम्पनीगत रूपमा हेर्दा सान्भी इनर्जीको सेयर मूल्य सर्वाधिक ६.९८ प्रतिशतले बढेको छ । त्यसपछिका अन्य उल्लेखनीय उकालो लाग्ने कम्पनीहरूमा पियोर इनर्जी ६.०९, इस्टर्न हाइड्रोपावर ४.५८, सिटी होटल ३.५८, बुटवल पावर ३.२२ र उन्नति सहकार्य लघुवित्त ३.१३ प्रतिशतले उकालो लागेका छन् ।
अर्कोतर्फ, नारायणी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ६.१४ प्रतिशतले घटेको छ। युनाइटेड मोदी हाइड्रोपावर ४.१८ र युनियन हाइड्रोपावर २.७२ प्रतिशतले ओरालो लागेका छन् ।
आजको सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, बुटवल पावर र माउन्टेन इनर्जी प्रमुख रूपमा अगाडि देखिए ।