© २०२३
काठमाडौं, ३ भदौ ।
अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२० सिरिज’ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८० रन बनायो । यससँगै नेपालले होबार्टलाई जितका लागि १८१ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन बनाए भने आसिफ शेखले २९ रन र कुशल भुर्तेलले २७ रनको योगदान दिए । लोकेश बमले ११ बलमा अविजित २५ रन बनाए । टोलीले अतिरिक्त रूपमा विपक्षीबाट ३२ रन प्राप्त गरेको थियो ।
बलिङतर्फ होबार्टका निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। राफ माकमिलनले पनि २ विकेट लिए भने मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १–१ विकेट हात पारे ।
यसअघि खेलिएका तीनै खेलमा पराजित भएको नेपाल आज सिरिजको पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग, दोस्रो खेलमा शनिबार बंगलादेश ‘ए’ सँग, र तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।
नेपालले अब बाँकी खेलमा भोलि मेलबर्न रेनेगेड्ससँग र शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।