© २०२३
कपिलवस्तु, ३ भदौ ।
गौर हत्याकाण्ड छानबिनका लागि सर्वोच्चले दिएको परमादेश पूर्वाग्रही रहेको भन्दै जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुका नेता कार्यकर्ताले तौलिहवामा विरोध प्रदर्शन गरेका छन् ।
रौतहटको गौरमा १९ वर्षअघि भएको हत्याकाण्डको छानबिन गर्न सर्वोच्च अदालतले परमादेश दिएपछि जसपा नेपालका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र सरकारी वकिलको कार्यालय परिसरमा भेला भई विरोध प्रदर्शन गरेँ ।
विरोधमा उत्रिएका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री, सरकार, एमाले, काँग्रेसको विरोधमा नारावादी गरे भने न्यायालयको न्याय सम्पादन माथि पनि प्रश्न उठाएका थिए ।
गौरहत्या काण्डमा जसपा नेपालका अध्यक्ष यादवलगायत उपर परेको जाहेरीमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश दिएको थियो ।
७ चैत २०६३ मा रौतहटको गौरमा रहेको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार गरी कार्यक्रम गर्न लाग्दा दुवै पक्षबिचको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।
जसपा नेपाल कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले केन्द्रीय अध्यक्ष यादव माथि राजनीतिक पूर्वाग्रह राखेर गौर घटनाको छानबिन गर्न लागिएकोले विरोध प्रदर्शन गरिएको बताए । भूमि अध्यादेशमा असहमति जनाउँदा अध्यक्ष यादवविरुद्ध षडयन्त्र गरिएको भन्दै उनले विरोध जनाए ।
गौरको घटनामा मधेसका जनताको स्वर्तफुर्त सहभागिता रहेको र सो राजनीतिक विषयलाई प्रतिशोधको रूपमा प्रस्तुत गरिएको उनको आरोप थियो । विरोध प्रदर्शनमा जसपा नेपालका केन्द्रीय नेता अब्दुल रसिद खाँ, केन्द्रीय सदस्य तथा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, केन्द्रीय सदस्य साधिका यादव लगायतको सहभागिता रहेको थियो ।