© २०२३
२०७९ चैत्र २१ गतेको कुरा हो । संयोगवश गोरखापत्र भवनको मूल ढोकामा स्थापित गोरखापत्रका संस्थापक सम्पादक जय पृथ्वीबहादुर सिंहको प्रतिमासित फोटो खिचियो । संयोजन थियो पत्रकार दिपक ज्ञवालीको । त्यस प्रतिमाको सान्निध्यमा खिचिएको आफ्नो तस्विरलाई मैले गम्भीरतापूर्वक हेरें । गौरवानुभूति अस्वाभाविक थिएन । अर्को दिन त्यस गौरवको चित्रलाई मैले आफ्नो अनुहार पुस्तिकामा सगौरव पोष्ट गरें । त्यसमा एउटा सामान्य स्टाटस लेखेको थिएँ–
“दीपक ज्ञवालीको सौजन्यमा गोरखापत्रका संस्थापक जय पृथ्वीबहादुर सिंहसित गोरखापत्र भवनमा–२०७९ चैत्र ।”
सामान्य स्टाटससित यो तस्विर पोष्ट मात्रै के गरेको थिएँ, धमाधम लाइकका लाइक कमेन्टका कमेन्ट आए । आफूले सामान्य सम्झेर पोष्ट गरेकोमा कतिपय असामान्य अर्थपूर्ण कमेन्ट आए । त्यसमा पेशाले पूर्व प्रशासक तर पहिचानमा सुष्ठु साहित्यकार नारायण ज्ञवालीको कमेन्ट थियो–
“देव शम्सेरको शासनकालमा दरबारिया ज्वाइसाहेव (बझाङी राजाका औलाद) श्रद्धेय श्री जय पृथ्वीबहादुर सिंह गोरखापत्रका संस्थापक मध्येका सक्रिय व्यक्तित्वका साथै प्रथम सम्पादक पनि हुन् । यिनको प्रतिमा नजिकै खिचिएको नेपालकै वरिष्ठ पत्रकार एवं साहित्य समाजसेवी आदरणीय दाजु अर्जुन ज्ञवालीको छायाँछवि अति शोभनीय सुनमाथि सुगन्ध बनेको छ ।”
यस्तै यस्तै अरु पनि कमेन्टबाट मेरो नाक घिरौला जत्रो भयो । कवि शिरोमणि लेखनाथ पौड्यालको एउटा कविता छ–
योग्य स्थान विसे मान सानाले पनि पाउँछ ।
कृष्णाको तटको ढुंगो देवता कहलाउँछ ।।
पवित्र कृष्ण गण्डकीको तटमा हुनु पर्छ, त्यहाँको ढुंगो पनि देवता हुन्छ । त्यहींको ढुंगो हो जसलाई शालिग्राम भनिन्छ । जय पृथ्वीबहादुर सिंहसित खिचेको फोटोबाट जुन मान सम्मान मैले पाएँ, यसबाट मलाई लागिरहेको छ– कृष्ण गण्डकीको तटमा भएको कारणले त्यहाँका ढुंगाले देवत्व पाए झैं मैले पनि कहीं कतै कुनै किसिमको देवत्व त पाइन ?
युवा पत्रकार दीपक ज्ञवाली जो अहिले गोरखापत्रमा प्रिन्टिङ तथा आर्थिक व्यवस्थापनमा सल्लाहकार छन्, तिनले मलाई अर्जुन दाइ ! तपाईं तुरुन्तै न्यूरोड गोरखापत्र आउनुस्, आउनु भयो भने यहाँ निकै रमाउनु हुनेछ भनेर बोलाए । म ७६ वर्षको बूढो मान्छे, तीन चारवटा गाडी फेर्दै आउन सक्तिन, भयो भो अब रमाउने दिन गए भनेर भनें । उनले भने, “पठाओ” मा आउनुस् न ! मैले “पठाओ” को बन्दोबस्त गर्न जानेको छैन भनेर इन्कार गरें ।” फेरि तिनले भने, “नाति नातिनालाई भन्नुस् न तिनीहरु मिलाउँछन् । आउनुस् न आउनुस् दाइ ! तपाईं यहाँ आफ्नो अतीतसित गाँसिन पाउनु हुन्छ, रमाउनु हुन्छ, आउनुस् । हुन्छ त भनेर नातिनी आर्यालाई भनें । तिनले पठाओ मिलाइदिइन् । खुर्र गोरखापत्र पुगें ।
पुरानै भवन । पुरानै अनुहारलाई जोगाएर नयाँ डेन्टिङ पेन्टिङ । सँगै अर्को एउटा भवन थपिएको रहेछ । बहत्तर सालको भुईचालोमा टसको मस नभएर स्थिर बसेको रहेछ यो । मलाई लाग्यो, यो पत्र मन्दिर नेपाली पत्रकारिताको धरोहर हो । अहिले गर्वका साथ “जेठासी” को हैसियतमा छ । म नतमस्तक भएँ !
दीपकले कोठा चोटा देखाए । कोठै पिच्छे डिजिटल प्रविधि एडजष्ट गर्ने यन्त्रहरु छन् । यन्त्रै पिच्छे यन्त्रवत् यन्त्रकर्मी छन् । अफसेट प्रेस छ । भकर्लाङ्ग भकर्लाङ्ग गर्दै सिसाका अक्षरले पटकै पिच्छे कागतमा डाम पारेर अखबार छाप्ने गिद्धे प्रेस छैन । वर्णमालाको फोटो खिच्दै अखबार छाप्दै गर्ने अत्याधुनिक मसिन छ । त्यहाँ रहेका कतिपय डिजिटल प्रविधिबारे दीपकले धेरै कुरा बताए । तिनका कुरा सुन्दै बोध गर्दै गर्दा जब थकाइ लाग्यो अनि भनें– बाबु, अहिलेसम्म जे जति बतायौ म छहत्तर वर्षको विद्यार्थीलाई त्यत्तिले पुग्यो । अझ अरु यहाँ आफै हेर्छु र पढ्छु ।

त्यसपछि गोरखापत्रको कार्यालयभित्र मैले यत्रतत्र दृष्टि लगाएँ । भांतिभांतिका कम्प्युटर छन् । कतै डिजाइनिङ छ । कतै पोष्टिङ । अन्तमा प्रिन्टिङ छ । कागतको डुंगुर छ । गोरखापत्र फोटोमा खिचिंदै खिचिंदै फुत्तफुत्त निस्कन्छ । मैले एक भनेर भनिनसक्दै सयौं गोरखापत्र फुत्तफुत्त निस्कन्छन् । गोरखापत्र ब्रोडगेजको राष्ट्रिय अखबार हो । सेटिङ लगायतका सबै डिजाइनिङ स्मार्ट छन् । समाचार, समाचार टिप्पणी, लेख, फिचर, सम्पादकीय, विज्ञापन लगायत दृश्य र पाठ्य सामग्री आफ्नो स्तरमा छन् । त्यसमा पनि तिनको सेटिङ स्मार्ट छ । मलाई लाग्यो, नेपालको जेठो पत्रिका गोरखापत्रले आफ्नो १२५ वर्षको उमेर पार गरेर समयको गतिलाई समात्दै आफ्नो जेठासीलाई कायम राख्न सकेको छ र अवको गन्तव्यलाई पनि मागदर्शन गरेको छ । भन्नुको अर्थ यसले आफ्नो गौरवशाली विरासतलाई जोगाएको छ र वर्तमानको प्रतिसपर्धात्मक चुनौतीलाई स्वीकारेको छ । एउटा समयमा गोरखापत्रको पनि विद्यार्थी भएर पत्रकारिताको बाह्रखरी सिक्ने अवसर पाएको हुनाले त्यसको बारेमा यस्ता दुई शब्द लेख्न पाउँदा मलाई खुशी लाग्छ ।
पैतालीस छ्यालीस बर्षअघिको कुरा हो । म बुटवलबाट रा.स.स.मा रुपन्देही जिल्ला संवाददाता थिए । समाचारको आधारमा पैसा मिल्थ्यो । बाटो घाटो, कुलो पानी, खेतीपाती, सानातिना घटना–दुर्घटनाका समाचारको प्रति समाचार ३ देखि ५ रुपियाँसम्म पाइन्थ्यो । अञ्चलाधीश, मन्त्री, शान्ति सुरक्षा जस्ता अलि ठूलो समाचारको ५ देखि ८ रुपियाँ सम्म हुन्थ्यो । राजा र राजदरबार सम्बन्धी समाचारको चाहिं १० देखि १५ रुपियाँ सम्म हुन्थ्यो । त्यो पनि गोरखापत्रमा छापिएपछि मात्रै । त्यतिखेर राससमा भैरव रिसाल चिफ रिपोर्टर हुनु हुन्थ्यो । उहाँ अत्यन्त कडा र दक्ष रिपोर्टर । आफ्नो रिपोर्ट पहिले उहाँबाट पास हुन गाह्रो । उहाँबाट पास भएर रासस बुलेटिनमा निस्केपछि गोरखापत्रमा छापिन गाह्रो । राससमा आएपछि भने धेरैजसो समाचार गोरखापत्रमा छापिन्थे । तथ्य, प्रामाणिकता र वस्तुगत आधारका कारण गोरखापत्रमा समाचार छापिनु भनेको सम्वद्ध संवाददाताको लागि राम्रो मर्यादाको बिषय हुन्थ्यो । म रासस मार्फत गोरखापत्रमा ४–५ वर्ष सम्वद्ध रहें । यसको मर्यादाबाट पत्रकारितामा परिचित हुन राम्रो मद्दत पुगेको हुनाले म गोरखापत्रप्रति आभारी छु ।
त्यतिखेर गोरखापत्र सिसाका अक्षरको छाप हानेर छापिन्थ्यो । मलाई सम्झना छ, त्यतिखेर विदेशी समाचारमा धेरैजसो एएफपीका समाचार हुन्थे । एउटा टाइपराइटर जस्तो मशिनमा एएफपीका समाचार नेपाली भाषामा रुपान्तरण भएर आफै टाइप हुन्थे । ती रुपान्तरित अक्षर एउटा सानो तारबाट नजिकैको ठूलो मशिनमा जान्थे । मशिनमा माथिबाट सिसाको झोल झथ्र्यो । त्यसै झोलमा टाइपराइटरबाट आएका अक्षर ठोस अक्षर बन्थे र ग्यालीमा लामबद्ध हुन्थे । ती श्रेणीवद्ध अक्षरलाई त्यसै ग्यालीमा कसेर त्यहीं नजिकै रहेको गिद्धे प्रेसमा राखी ढ्याप ढ्याप कागतमा छापिन्थ्यो । त्यतिखेर त्यही हुन्थ्यो गोरखापत्र । त्यसका प्रतिहरु भने त्यतिखेर एक, दुई, तीन भनेर आफ्नो गतिमा गन्न सकिन्थ्यो । विजुलीबाट आफै मशिनमा सिसा पगालेर अक्षर बनाउने र तिनलाई ग्यालीमा कसेर छापाखानामा राखी बिजुलीबाटै छाप्ने काम गोरखापत्रमा हुन्थ्यो । अरु सानातिना प्रेसमा यो सम्भव थिएन । धेरैजसो प्रेसमा भारतबाट रेडिमेड अक्षर ल्याई काठको शो केसमा राखी नेपाल बनाउनु प¥यो भने न ल्याउने त्यसपछि एको मात्रा ल्याउने, त्यसपछि प ल्याउने र आको मात्रा लगाउने अनि पछि ल ल्याएर नेपाल बनाउने जस्तै आवश्यक शब्द कम्पोज गरी छपाइ गरिन्थ्यो । नयाँ प्रविधिको डिजिटल प्रेस हेरिरहँदा सम्झनाको तरेलीमा सिसाको झोल र सिसाका अक्षरका कुरा आए । तिनले दोमन गरिरहँदा म अलिकति टोलाएँछु । यत्तिकैमा धमाधम केही गोरखापत्रकर्मी मित्रहरुसित साक्षात्कार हुन गयो । एक जना हुनुहुँदो रहेछ बोर्ड मेम्बर……महत । अर्को गंगा पन्थी, अर्को एकजना ओम भुषाल । यस्तै यस्तै अरु दुईचार जना ।
दीपक बाबुले परिचय आदानप्रदान गराए । प्रसंगवश मैले सिसाको झोल, सिसाको अक्षर र पुरानो गिद्धे प्रेसका कुरा झिकें । ती कुरा सुन्दा उहाँहरु हो र ! भन्ने मुडमा देखिनुभयो । त्यसबखत मलाई आफू एकादेशको कथा भए जस्तो लाग्यो ।
जे होस्, संस्थापक जयपृथ्वीबहादुरको समयदेखि सिसाको अक्षरको हन्डर र ठक्कर खाँदै समय समयमा राजनीतिक, आर्थिक, सांस्कृतिक उकाली ओराली झेल्दै आफ्नो तटस्थताको धर्मलाई जहाँसम्म जोगाउँदै अहिले डिजिटलको समयसम्म एउटा अटल धरोहर बनेर सम्पूर्ण समाचार, सम्पूर्ण सूचना मार्फत सम्यक सन्देशको संवाहक बनिरहन सकेकोमा एउटा समयको मेरो गुरु गोरखापत्रमा धन्य छ । त्यसको संक्षिप्त शिष्य भएको नाताले म पनि धन्य छु ।
जय पृथ्वीबहादुरले एडिटोरिल शीर्षकमा गोरखापत्रमा लेखेको पहिलो सम्पादकीय मैले दीपकबाट पाएको हुँ । कता परेछ, यसमा समावेश गर्न सकिन ।
अस्तु,
भाद्र महिना २०८२