© २०२३
लमही, ०३ भदौ ।
दाङको देउखुरीमा राप्ती नदी दक्षिण भागमा गढवा गाउँपालिकाबाट राजपुर गाउँपालिकाको सिमानासम्म सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ सुरु भएको बड्कापथ सिँचाइ आयोजनाको वनघुर्सी आउटलेटबाट पानी छोडिएको छ ।
मुहानबाट वनघुर्सीसम्मको ८.२ किलोमिटर मूल नहर र शाखा नहर निर्माण पूरा भएपछि पानी छाडेर परीक्षण गरिएको थियो । परीक्षण सफल भएकाले वनघुर्सी आउटलेटबाट किसानलाई पानी दिन सुरु गरिएको हो ।
स्थानीय किसानले यसपालि त्यही पानीबाट सिँचाइ गरेर मकै, धान सिँचाइ गर्न थालेका छन् । मूल नहर निर्माणका लागि किसानले जग्गा समेत दिएका थिए । त्यसको बदलामा उनीहरूले राप्ती नदी बगरको उकास जग्गा उपभोग गर्न पाएका छन् ।
सिँचाइ सुविधा भएपछि किसानहरू आ–आफ्ना भागको उकास जग्गा खेतीका लागि मिलाउने काममा लागेका छन् । आयोजनाको मुहान भालुवाङ बजार क्षेत्रस्थित राप्ती नदीको पुलमा छ । मुहानबाट गढवा गाउँपालिका–१, वनघुर्सीसम्म करिब ८.२ दुई किलोमिटर लामो मूल नहर छ ।
यो आयोजना सुरु भएपछि वनघुर्सीसम्मको मूल नहर र शाखा नहर निर्माण कार्य १२ वर्षमा सम्पन्न भएको हो । बड्कापथ सिँचाइ आयोजना आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको थियो । आयोजना कार्यालय, लमहीका प्रमुख निश्चल छत्कुलीका अनुसार सिँचाइ सुविधा भएपछि वनघुस्री र कुलपानी क्षेत्रका किसान उत्साहित भएका छन् ।
आयोजनाबाट गढवा र राजपुर गरि ८० हेक्टर जमिनमा बाह्रमास सिँचाइ सुविधा हुनेछ । अन्य दुइटा गाउँका आउटलेटमा आगामी असारसम्म पानी छाड्ने तयारीका साथ काम भइरहेको प्रमिक छत्कुलीले बताए ।
यो खण्डको करिब ५० मिटर मूल नहरमा अन्तिम काम बाँकी छ । यस अन्तर्गत शाखा र उपशाखा नहर निर्माणको काम पूरा भइसकेको छ । वनघुर्सीबाट सिक्रहवा खोलासम्मको निर्माण काम पनि धमाधम भइरहेको उनले बताए ।
यो खण्ड पूरा भएपछि मूल नहरको लम्बाइ करिब साढे १४ किलोमिटर हुनेछ । यो खण्डबाट पनि आगामी असारभरिमा किसानलाई पानी दिने लक्ष्य रहेको छल्कुलीले बताए । नहर निर्माणको क्षेत्रमा करिब साढे चार हजार रूख हटाउनु पर्दा काम ढिलो भएको बड्कापथ सिँचाइ आयोजना मुलसमितिका अध्यक्ष राजु चौधरीले बताए ।
सो नहले अन्तर्गत गढवाबाट राजपुर गाउँपालिकाको सिमानासम्म कुल चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ कुल ३० किलोमिटर मूल नहर निर्माण गर्ने योजना छ । बाँकी निर्माण काम आगामी आर्थिक वर्ष २०८२/०८३ मा सुरु हुने आयोजना प्रमुख छत्कुलीले बताए । बड्कापथ सिँचाइ आयोजनाको नहर निर्माण कार्यमा हालसम्म साढे एक अर्ब रुपैयाँ खर्च भएको छ । आयोजना सम्पन्न गर्न तीन अर्ब ७६ करोड रुपैयाँ बजेट छुट्ट्याइएको थियो ।
रूख कटानी र जग्गाको भोगाधिकार समेतको खर्चका कारण आयोजना पूरा हुँदा चार अर्ब नौ करोड रुपैयाँ खर्च हुने अनुमान छ आयोजनाका साइड इन्जिनियर रामपुकार साहले बताए । आगामी साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ नहर निर्माणको काम भइरहेको छ,’ उनले भने ।
आयोजना सम्पन्न भएपछि स्थानीय किसानको चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उनका अनुसार पहिला मुख्य समस्या रूख कटानको थियो । अहिले नहर निर्माण क्षेत्रमा पर्ने सबै रूख लगभग हटाइसकिएको छ । अब धमाधम काम हुनेछ ।
थारू समुदायका स्थानीय किसानहरूले परम्परागत रूपमा विकास गरेको सिँचाइ प्रणाली व्यवस्थित गर्न सरकारले बड्कापथ आयोजनाको अघि बढाएको थियो । थारू भाषामा ‘बड्का’ भनेको ‘ठुलो’ हो । विगतमा उनीहरू माटो र स्याउलाको मद्दतले नदीमा अस्थायी बाँध बनाएर कुलोबाट खेतबारीमा पानी पु¥याउँथे ।
बड्कापथ सिँचाइ आयोजना अन्तर्गत सिंगो देउखुरी उपत्यकामा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सतह सिँचाइ आयोजनाको अवधारणा अनुरूप पनि काम भइरहेको आयोजना प्रमुख छत्कुलीले बताए । यो कामको सुरुआत राप्ती नदीवारिको लमही नगरपालिका–९, सतबरिया क्षेत्रबाट भएको छ ।
गढगा गाउँपालिका क्षेत्रमा ‘दंगाली छाप’ प्रणाली अनुरूप सिँचाइ आयोजना अगाडि बढाइने भएको छ । ‘दंगाली छाप’ स्थानीय किसानले विकास गरेको पुरानो सिँचाइ प्रणाली हो । दाङको देउखुरी उपत्यकामा चार वटा स्थानीय तह छन् ।
बड्कापथ सिँचाइ आयोजनाले राप्ती नदीपारिका गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउँछ । राप्ती नदीवारिका राप्ती गाउँपालिका र लमही नगरपालिकाको ५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ पु¥याउन प्रगन्ना सिँचाइ आयोजना पहिले नै पूरा भएको थियो ।
थारू समुदायले परम्परागत रूपमा चलाएको प्रगन्ना सिँचाइ कुलो नै प्रगन्ना सिँचाइ आयोजनाका रूपमा विकास गरिएको थियो । प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय, लमहीका प्रमुख ईश्वरनाथ पक्वाँका अनुसार यो कार्यालयले आयोजनाको मर्मत सम्भारको काम गर्छ ।
यो आयोजनामा राप्ती नदीको भालुवाङ पुलमुनिबाट चार वटा मूल नहर निर्माण गरिएका छन् । चार वटा नहरको कुल लम्बाइ ५१ किलोमिटर छ ।’ तिनका शाखा र प्रशाखा समेत गरी कम्तीमा सय किलोमिटर नहर सञ्जाल विस्तार भएको छ,’ पक्वाँले भने । प्रगन्ना सिँचाइ आयोजनाको सुविधा पुगेको अधिकांश भूमि मकै उत्पादनको पकेट क्षेत्र मानिन्छ ।