© २०२३
विराटनगर, ३ भदौ ।
नेकपा (एमाले) की पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय पुगिन् । पार्टी केन्द्र तथा प्रदेश नेतृत्वले कुनै औपचारिक कार्यक्रम नगर्न निर्देशन दिएको अवस्थामा उनले त्यसको अवज्ञा गर्दै कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरिन् ।
भण्डारीले कार्यालय प्रवेश लगत्तै एमालेका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिन् । उनले कम्युनिस्ट आन्दोलनलाई जनताको पार्टी बनाउन ती नेताहरूको योगदान अविस्मरणीय रहेको उल्लेख गरिन् ।
भूकम्पपछिको लामो अन्तरालपछि पहिलो पटक विराटनगर पार्टी कार्यालय आएको बताउँदै उनले आफ्नो राजनीतिक यात्राको अनुभव साझा गरिन् । स्थानीय तहमार्फत संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने धारणा राख्दै कार्यकर्तालाई पार्टीप्रति उत्साहित र प्रतिबद्ध रहन आग्रह गरिन् ।
यस क्रममा जिल्ला कमिटी र महानगर कमिटीका नेताहरूले भण्डारीको स्वागत गरेका थिए। तर पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षका नेता, कार्यकर्ता भने कार्यालयमा अनुपस्थित रहे । केही नेताहरूका अनुसार, संस्थापन पक्षले आफ्ना कार्यकर्तालाई भण्डारी सहभागी कार्यक्रमबाट टाढा रहन निर्देशन दिएको थियो, जसका कारण कार्यक्रममा भण्डारी पक्षको मात्रै बलियो उपस्थिति देखियो ।
मोरङ जिल्ला र विराटनगर महानगरमा भण्डारी पक्षको प्रभाव उल्लेखनीय मानिन्छ । त्यसैले उनको उपस्थितिले स्थानीय नेताहरूमा विशेष उत्साह देखिएको थियो । कार्यक्रममा उनले पार्टी सदस्यता नवीकरण गराएको जानकारी पनि दिइन् ।
एमाले विराटनगर महानगरपालिका इन्चार्ज परशुराम बस्नेतले भने पार्टीको कुनै औपचारिक कार्यक्रम नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत प्रचार गरिएको भनिएको कार्यक्रमबारे उनले आपत्ति जनाउँदै लेखेका छन्, “केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट कुनै औपचारिक कार्यक्रम तय गरिएको छैन ।”
उनले सामाजिक सञ्जालमा लेखेका छन्, झुटो प्रचारप्रसारप्रति नझुक्किन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टी समर्थकहरूमा हार्दिक अनुरोध गर्दछु ।