© २०२३
काठमाडौं, ३ भदौ ।
सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेका छन् । सोही उद्देश्यले दुवै दलले आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाई हस्ताक्षर संकलन प्रक्रिया सुरु गरेका छन् ।
कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । यो बैठकपछि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरु आउन थालेका छन् ।
त्यस्तै, नेकपा एमालेले पनि आफ्ना सांसदहरूलाई हस्ताक्षरका लागि उपस्थित हुन निर्देशन दिएको छ । एमालेका एक सांसदका अनुसार हस्ताक्षर प्रक्रिया आज दिउँसो २ बजेसम्म सम्पन्न गर्ने भनिएको छ ।
यसअघि कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो । महान्यायाधिवक्ता रमेश बडालसहित उनीहरूले छलफल गरेका थिए । उक्त छलफलमा सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको महाभियोगबारे पनि छलफल भएको थियो । त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेका हुन् ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि उनलाई महाभियोग लगाउने तयारी भएको थियो, तर दलहरूबीचको असहमतिको कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।