Butwal Today

पृथ्वीचन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सकको आकर्षण बढ्दै

३ भाद्र २०८२, मंगलवार
अ+
अ-

समाचार सारांश


  • एक समय चिकित्सक अभावका कारण रिफर सेन्टरका रूपमा चिनिएको अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकको आकर्षण बढ्दै गएको छ ।

  • ८ जनाको दरबन्दी भए पनि हाल अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

  • बिरामीको विश्वास बढेको र सर्जरीको सङ्ख्या समेत वृद्धि भएको छ ।


नवलपरासी, ०३ भदौ ।

कुनै बेला सधैँ चिकित्सक अभाव रहने र रिफर सेन्टरका लागि चिनिने गरेको जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अहिले विशेषज्ञ चिकित्सक (कन्सल्टेन्ट) डाक्टरको आकर्षण बढ्न थालेको छ ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको आकर्षण बढेसँगै बिरामीको विश्वास पनि बढेर बिरामी सङ्ख्यामा उल्लेख्य वृद्धि पनि हुन थालेको हो ।
अस्पतालमा ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले थप ५ जना विशेषज्ञ चिकित्सक गरी कुल १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालले जनाएको छ ।

५ जना मेडिकल अधिकृत र दुई जना डेण्टल सर्जन सहित १९ जना कार्यरत छन् । एक जना थप विशेषज्ञ चिकित्सक सरुवा भएर आउने छन् ।

अस्पतालका अनुसार डा.प्रकाश ढकाल रेडियोलोजीष्ट कन्सल्टेन्ट, डा.कृष्ण श्री वास्तव हाड जोर्नी विशेषज्ञ (अर्थोपेडिक सर्जन),डा. अजेन्द्र यादव स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाईनो), डा.सबा खान एनेस्थेसिया कन्सल्टेन्ट, डा.अब्दुल हकिम मुसलमान ल्याप्रोसकोपी सर्जन, डा.रुबी श्री वास्तव स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाईनो) डा.नरेन्द्र यादव जनरल फिजिसियन, डा.किरन पाण्डे जनरल सर्जन, डा.सुस्मिता उपाध्याय जनेरेटिक मेडिसिन, डा.विवेक अचार्य क्षेत्री जनरल फिजिसियन, डा.वृन्दा ढुगाँना स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाईनो) डा.दिब्या शाह अपथार्मालोजिष्ट लगायतका कन्सल्टेन्ट विशेषज्ञ चिकित्सकको टोली कार्यरत छ ।

त्यसै गरी मेडिकल अधिकृतमा डा.मुरली मनोहर गुप्ता, डा.चन्द्र सेखर यादव, डा.विजय प्रकाश सहानी, डा.रोशन क्षेत्री, डा. शिवराज सहानी रहेका छन्, भने दुई जना डेण्टल सर्जन डा.नेसार खान र डा.यमिस्का ज्ञवाली रहेकी छिन् । अस्पतालमा दरबन्दी भन्दा बढी विशेषज्ञ आए पश्चात् अस्पतालको सेवा प्रति विश्वसनीयता थपिएको छ, तर सहयोगी कनिष्ठ कर्मचारीको थप आवश्यकता देखिन थालेको छ ।

अस्पतालमा अहिले जटिल प्रकृतिका सर्जरी गर्न सक्ने जनशक्ति पर्याप्त छ । तर सर्जरी पश्चात् दिइने अन्य सेवाका लागि नर्सिगँ स्टाफ, पारामेडिक्स, पोष्टअफ स्टाफ,ओटी सहयोगी स्टाफ अभाव नै रहेको छ ।

अस्पतालका मेनेजर सीमा काफ्लेका अनुसार विशेषज्ञ चिकित्सकको अनुपातमा थप १५ जना स्वास्थ्यकर्मी थपियो भन्ने पूर्ण क्षमताको काम हुन सक्ने छ । जस्मा पोष्टअफ स्टाफ ५ जना, आइसियुका लागि ५ जना, ओटी सहयोगी स्टाफ २ जना आवश्यक नै पर्ने अवस्था देखिन्छ ।

दिनमा १० वटा सर्जरी पनि हुने गरेको छ । विशेषज्ञ चिकित्सकले सर्जरी गर्न सक्छन्, तर सर्जरीपछि दिइने सेवाका लागि सैया थप्नु पर्ने र सैया अनुसार स्वास्थ्यकर्मी थप्नु पर्ने अवस्था आउँछ, त्यसैले केही बिरामीलाई अप्रेसनका लागि प्रादेशिक अस्पतालमा समेत पठाउने गरिएको छ ।

अस्पतालमा झन्डै ४० लाखका उपकरण तथा मेसिनहरू खरिद गरी थन्किएका अवस्थामा थियो । पछि अस्पतालले परीक्षणको रूपमा त्यसलाई सञ्चालनमा ल्याएको थियो । स्वास्थ्यकर्मीहरू पनि तालिम लिई आई सकेको र अन्य काम गर्दै बस्ने र तलब खाने कार्य मात्र गर्दै आएका छन् ।

यता आँखा उपचार सहित चस्माको जाँच तथा उपलब्धताका लागि तयारी भइरहेको दाबी अस्पतालका सूचना अधिकारी अमजद अन्सारीले बताएका थिए । ५० सैया अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा (ओपिडि) अन्तर्गत हाड जोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्री तथा प्रसूति, मानसिक रोग, बालरोग, नाक कान घाँटी, दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् ।

अल्ट्रासाउण्ड, डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, बिरामी भर्ना जनरल, फर्मेसी सेवा, प्रसूति अन्तर्गत साधारण प्रसूति जटिल र अप्रेसन सेवा, एचआईभी परामर्शकेन्द्र, लैंगिक हिसा सम्बन्धी एकद्वारा व्यवस्थापन (ओसीएमसी), क्षयरोग, कुष्ठरोग क्लिनिक, जिन स्पट सेवा, संस्थागत क्लिनिक सेवा, प्लास्टर सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।

अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक, २ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरीय बनाउन सकियो भन्ने बिरामीलाई सन्तुष्टि दिन सकिन्छ । अस्पतालमा ७२ जनाको दरबन्दी भए पनि आन्तरिक स्रोत सहितका १ सय २० जना चिकित्सक, डाक्टर, स्वास्थ्यकर्मी लगायतका कर्मचारीले सेवा दिदै आएका छन् ।