© २०२३
बुटवल, ३ भदौ ।
सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दा बुटवलले जटिल शल्यक्रियामार्फत डिम्बासयको ट्युमर निकालेपछि रोल्पाकी तीला नेपालीको स्वास्थ्यमा सुधार आएको छ । अस्पतालले दिएको गुणस्तरीय सेवा र समर्पित उपचारका कारण बिरामीका आफन्तसमेत अस्पतालप्रति गहिरो विश्वास व्यक्त गरेका छन् ।
रोल्पा जिल्ला, सुनस्मृति गाउँपालिका निवासी ४१ वर्षीया तीला नेपाली १४ वर्षदेखि पेट फुल्ने समस्याले पीडित थिइन् । घरेलु उपचार र औषधीमा निर्भर रहँदै आएकी तीला श्रीमानले परिवार त्यागेको चौध वर्षपछि पाँच सन्तान सहितको जिम्मेवारी बोकेर जीवनयापन गरिरहेकी थिइन् ।
स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएपछि आमाको सल्लाह र काकाको छोराको सहयोगमा तीला बुटवलस्थित आम्दा अस्पतालमा भर्ना भइन । प्रारम्भिक परीक्षणपछि डाक्टरहरूले डिम्बासयमा पलाएको ट्युमर धेरै पुरानो र जटिल अवस्थामा रहेको बताए । त्यसपश्चात तत्काल सर्जरीको तयारी गरियो ।
शल्यक्रियामा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नारायण जिसीको नेतृत्वमा गरिएको सफल अपरेसनपछि तीलाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । “पेट फुल्ने, खाना मन नलाग्ने, शारीरिक कमजोरी जस्ता समस्या अहिले पूर्ण रूपमा हटेका छन्,” तीला बताउँछिन् । उपचार पश्चात उनले चिकित्सक डाक्टर, नर्सिङ स्टाफ र सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गरिन् ।
डा. नारायण जिसीका अनुसार डिम्बासयमा ट्युमर हुने समस्या जुनसुकै उमेर समूहका महिलामा देखिन सक्छ। “पेट फुल्ने जस्ता सामान्य लक्षणलाई ग्याष्ट्रिक ठानेर धेरै महिलाले घरमै उपचार गर्छन्, जसले समस्या झन जटिल बनाउँछ,” उनले भने । प्रारम्भिक जाँच र समयमा गरिएको सर्जरीबाट क्यान्सरजस्ता जटिल रोगहरूबाट समेत जोगिन सकिने उनको सुझाव छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद पराजुलीले आम्दा अस्पतालले विगतदेखि नै महिला र बालबालिकाका जटिल शल्यक्रियाहरू सफलतापूर्वक गर्दै आएको जानकारी दिए । “स्त्री क्यान्सर रोग विशेषज्ञको व्यवस्था, आवश्यक पूर्वाधारको विकास र दक्ष जनशक्तिको परिचालनसँगै आम्दा अस्पतालले गुणस्तरीय र पहुँचयोग्य सेवा प्रदान गरिरहेको छ,” उनले भने ।
च्यारिटी अस्पतालको स्वरूपमा सञ्चालित आम्दा अस्पतालले आर्थिक रूपमा कमजोर वर्गका बिरामीहरूलाई समेत सहज र किफायती सेवासहितको स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। आवश्यक पूर्वाधारको विकास संगै विशेषज्ञ चिकित्सकहरुको व्यवस्थापनगर्दै अस्पतालको सेवालाई परिस्कृत गर्दै लैजाने मेसु पराजुलीले प्रतिवद्धता व्यक्त गरे ।