© २०२३
काठमाडौं,२ भदौ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्थायित्वमा अडिग रहेको स्पष्ट पार्दै, सरकार ढल्ने हल्ला फैलाउनेहरूलाई अस्थिरताका रोगीको संज्ञा दिएका छन् ।
सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबीच उच्चस्तरीय सहमतिसहितको गठबन्धन बनेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म सरकार टिक्ने दाबी गरे ।
उनले राजनीतिक स्थायित्व र सहमतिप्रति विश्वास गर्न सबै राजनीतिक दल र जनप्रतिनिधिहरूलाई आग्रह गरे ।
महासचिव पोखरेलले कांग्रेस नेता शेखर कोइरालातर्फ संकेत गर्दै एकातिर सत्तामा सहभागिता खोज्ने, अर्कातिर सरकारको विरोध गर्ने प्रवृत्तिलाई अनैतिक भनेर टिप्पणी पनि गरे ।
सरकारले सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानुन नल्याउने महासचिव पोखरेल स्पष्ट पारेका छन् । उनले सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित गर्न मिडिया काउन्सिल विधेयक ल्याउन लागेको दाबी पनि गरे ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताका सन्दर्भमा उनले पूर्वराष्ट्रपतिले गरिमामय र निष्पक्ष भूमिकामा रहनुपर्ने धारणा व्यक्त गरे ।