© २०२३
बुटवल, २ भदौ ।
रुपन्देही-३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन लागि २६ दल दर्ता भएका छन्।
निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै २७ वटा दलले निवेदन दिएकामा २६ दल मात्रै दर्ता हुन योग्य रहेको बताएको हो।
आयोगले दल दर्ताका लागि साउन २१ देखि २७ गतेसम्मको समय दिएको थियो। रुपन्देही-३ मा कार्तिक १७ गते उपचुनाव हुँदैछ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देही-३ को उपचुनाव लड्न अयोग्य भएको छ।
निर्वाचन आयोगले सोमबार दर्ता भएका दलहरुको सूची सार्वजनिक गरेकोमा नागरिक उन्मुक्ति पार्टी छुटेको हो। अयोग्य रहेको दलमा नागरिक उन्मुक्ति पार्टी रहेको आयोगको भनाइ छ। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी दर्ता हुन नसक्नुका ३ कारण दिएको छ।
आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नाउपा चुनाव लडन अयोग्य हुनुमा नयाँ कार्यसमितिले बैधानिकता नपाउनु र अध्यक्ष रञ्जिता श्रेष्ठले दल दर्ता हुन केन्द्रीय समितिको निर्णय र बार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्न नसक्नु रहेको बताए।
‘नयाँ कार्यसमितिले बैधानिकता पाएन, नागरिक उन्मुक्ति पार्टी ती मान्छेहरुको साथमा रहेन,’ भण्डारीले भने, ‘रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठकको निर्णय र वार्षिक लेखा परीक्षण प्रतिवेदन बुझाउन सक्नु भएन। प्रमाण नपुगेपछि दर्ता हुने कुरा भएन।’
नाउपा संरक्षक रहेका रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई अपदस्त गर्दै आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका थिए।