© २०२३
काठमाडौं, २ भदौ ।
नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) परिसूचक सोमबार ९ अंकभन्दा बढीले बढेको छ । आइतबारको तुलनामा कारोबार रकम घटे पनि परिसूचक सकारात्मक रहँदा बजारमा सुधार देखिएको छ ।
धितोपत्र बजारमा सूचिकृत अधिकांश कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका कारण लगानीकर्ताले कम्पनीहरूको आर्थिक प्रदर्शनबारे पूर्वानुमान गरिसकेका छन् । यसैले सोमबार नेप्से परिसूचकमा सुधार आएको हुन सक्ने विश्लेषकहरूको भनाइ छ ।
सोमबार कारोबार सुरु हुँदादेखि नेप्से परिसूचक बढ्न थाल्यो । करिब एक घण्टापछि केही घटबढ देखिए पनि कारोबार सक्दासम्म सुधारको क्रम कायम रह्यो ।
कारोबार सुरु हुँदा नेप्से सूचक २७६१.२२ मा थियो भने ९.१६ अंकले वृद्धि भएर २७७०.३९ पुगेको छ। बैंक, विकास बैंक, जलविद्युत् लगायतका क्षेत्रका अधिकांश कम्पनीका सेयर मूल्य बढेका छन् ।
समूहगत परिसूचकहरूमा बैंकिङ २.५३, विकास बैंक १८.३३, वित्तीय संस्था २.२९, होटल तथा पर्यटन १७.१९, जलविद्युत् ३४.७७, लगानी ०.४८, जीवन बीमा ४२.६६, उत्पादनमूलक ३७.७५, लघुवित्त ५.२०, गैरजीवन बीमा ४७.४५ र व्यापार समूह ५३.३८ अंकले बढेका छन् । तर, सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ अंकले घटेका छन् ।
सोमबार नेप्सेमा कुल ३२० कम्पनीका सेयर कारोबार भएका छन् जसमा १७५ कम्पनीका सेयर मूल्य बढेका र ७४ कम्पनीका मूल्य घटेका छन् ।
कुल कारोबारमा ६७ लाख ९९ हजार ९५२ कित्ता सेयर किनबेच भएको छ भने कुल रकम करिब ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। यो रकम आइतबारको कारोबार रकमभन्दा कम हो, जसमा ७ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको थियो ।