© २०२३
सार्वजनिक उद्देश्य प्राप्तिका लागि सरकारद्वारा संचालित तथा निर्मित संरचना नै सार्वजनिक प्रशासन हो । सार्वजनिक प्रशासनले सरकारका नीति कार्यान्वयन गर्ने, सरकारलाई नीति निर्माणमा सहयोग गर्ने र विकास निर्माणको क्रियाकलाप सञ्चालन गर्ने गर्दछ ।
यो बहुआयामिक प्रवृतिको स्थायी संयन्त्र हो । नेपालको सार्वजनिक प्रशासनको वर्तमान समयमा जेन एक्स पुस्तामा नेतृत्व रहेको छ । अवको नेतृत्व पछ्याउने प्रयासमा जेन वाई पुस्ता रहेको छ भने सार्वजनिक प्रशासनमा प्रवेश गर्दै गरेका र कतिपय स्थानमा महत्वपूर्ण भुमिका प्रस्तुत गरेको पुस्ता हो जेन जी पुस्ता ।
जुन पुस्तामै वर्तमान सार्वजनिक प्रशासनको शुद्धिकरणको आशा वलियो गरी अडेको छ । आधुनिक समयको विभिन्न समयमा जन्मेको आधार, समाजमा भएको भिजुअल र व्यवहारिक अन्तर, संस्कार र सोचाईमा देखिने भिन्नता, प्रविधि र आविष्कार, जीवनशैली चिन्तन तथा दृष्टिकोणको आधारमा विभिन्न पुस्तामा वर्गीकरण गरिएको छ । नेपालको सार्वजनिक प्रशासन पनि यही वर्गीकरणको तिन पुस्ताले सञ्चालन गर्दै आएको छ ।
जेन एक्सः
सन् १९६५ देखि सन् १९८० सम्म जन्मलिएको पुस्ता हो जेन एक्स । आजको दिनमा यो समुहको उमेर ६० वर्षदेखि ४५ वर्षसम्म रहेको छ । यो पुस्ताले नै नेपालको सार्वजनिक प्रशासनको नेतृत्व सम्हाल्दै आएको छ ।
यो पुस्ता नेपालको प्रशासनमा प्रवेश गर्दाको बखत प्रविधिको विकासको हिसाबले संक्रमणकालीन डिजिटल युगतर्फ उन्मुख भएको पुस्ता हो । सार्वजनिक सेवामा यो पुस्ताले कार्यसम्पादनमा परम्मपरागत तरिका हस्तलिखित हुदै हाल कम्प्युटराईज हुदै सुचना प्रविधिको उच्चतम प्रयोगसम्म आएको छ ।
यो परिवर्तनको स्वीकार गर्ने क्रममा नेपालको सार्वजनिक प्रशासन पनि एक हदसम्म संक्रमणकालीन अवस्थामै रहन बाध्य रह्यो । यसै परिवर्तनलाई स्वीकार गर्दै आफुलाई परिमार्जन गर्दै आएका प्रशासक नै वर्तमानमा नेपालको सार्वजनिक प्रशासनको नेतृत्वमा रहेको देखिन्छ ।
तर यो पुस्ताले सुचना प्रविधि भएको परिवर्तनसंगै सार्वजनिक सेवामा परिवर्तन ल्याउनुपर्ने थियो । त्यो सापेक्षरूपमा ल्याउन नसक्नु नै सार्वजनिक प्रशासनको दुःखद पक्ष रहन गयो ।
जेन वाई:
सन् १९८१ देखि सन् १९९६ सम्म जन्मेको यो पुस्ता आजको दिनमा ४६ देखि २९ वर्ष उमेर समुहमा रहेको छ । जुन पुस्ता जन्मेको समय विज्ञान र प्रविधिमा क्रान्तिको युग रहेको थियो । नेपालको सार्वजनिक सेवामा पनि यो समय विज्ञान र प्रविधिमा एक हदसम्म छलाङनै मारेको देखिन्छ ।
यो समय नेपालको सार्वजनिक प्रशासनले मुलत विकेन्द्रिकरणको कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेलेको थियो । देश गृहयुद्धमा रहेको यो समय स्थानिय निकाय जनप्रतिनिधिविहिन रहेको यस समय नेपालको सार्वजनिक प्रशासन नै जनताको जनताको अभिभावकको रूपमा रह्यो ।
जेन जीः
करिब सन् १९९७ देखि २०१२ को समयमा जन्म लिएको पुस्ता नै जेन जी पुस्ता हो । यो पुस्ता एआईको जुम्लिया पुस्ताका रूपमा लिइन्छ । यो पुस्ता हालको समयमा २८ देखि १३ वर्ष उमेर समुहमा रहेका छन् ।
जेनजी पुस्ता नेपालको सार्वजनीक प्रशासनको नवरक्तको रूपमा प्रवेश हुदैँ गरेको छ भने यो पुस्ताको ठूलो हिस्सा सार्वजनिक प्रशासनमा प्रवेश गर्ने उत्कट अभिलासा बोकेर प्रवेशद्वारमा संघर्ष गर्दै गरेको पुस्ता हो ।
नेपालमा हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन भन्दा कम्तिमा चार वर्ष कान्छो रहेको यो पुस्ताको ठूलो हिस्सा प्रवेश गरिसकेको र केही प्रवेश गर्न प्रवेशद्वारमै संघर्ष गर्दै गरेको र केही उमेर समूह प्रवेश गर्ने र सेवा दिने सपना साँचेर बसेको समुह हो यो ।
लोकसेवा आयोगको ६५ औं प्रतिवेदन अनुसार आ.व २०८०/०८१ को लोकसेवाबाट सिफारिस भएका २६८८ मध्ये १९०८ अर्थात ७०.९८% उमेदवार यसै उमेर समुहका ३० वर्ष मुनीको रहेको देखिन्छ । जुन तथ्यांकलाई आधार मान्दा अवको केही समयमै नेपालको सार्वजनिक प्रसाशनको ठूलो हिस्सा यो पुस्तामा रहने छ । जुन नेपालको सार्वजनिक प्रशासनमा एक अवसरको रूपमा रहेको छ ।
जेन जी पुस्ताको एउटा समाज राज्यबाटै विश्वास मारेर देशबाटै पलायन भइरहेको छ भने अर्को जमात राज्यप्रति नै विश्वास फिर्ता ल्याउनु पर्छ भन्ने पक्षमा रहेको छ । त्यो जमात नै हो सार्वजनीक प्रशासनमा प्रवेश भइसकेको वा प्रवेशको लागी मूलद्वारमा संघर्ष गर्दै गरेको समुह नै हो ।
नेपालको सार्वजनीक प्रशासनको सुदृढिकरण र सवलिकरणको आशाको केन्द्र हो । यो पुस्ता सुचना प्रविधीको उच्चतम प्रयोग मार्फत सेवा प्रवाहमा परम्परागत शैलीलाई रूपान्तरण गर्दै सूचना प्रविधि केन्द्रित छिटो छरितो गुणस्तरीय र कम लागतको कार्य सम्पादनमा विश्वास गर्दछन् ।
नेपालको सार्वजनिक प्रशासनमा प्रवेश गरेका र प्रवेशको लागि अनवरत प्रयास गर्दै आएको यो पुस्ता स्मार्ट फोन र इन्टरनेटको युगमा हुर्केको पुस्ता हो र विश्वलाई नै साघुँरो बनाउने सामाजिक सञ्जालसंगै जुम्लिया जन्म लिएको पुस्ता हो । तर, प्रविधि र नवप्रवद्र्धनमा विश्वास गर्ने यो पुस्तालाई सार्वजनिक सेवामा प्रवेश गराउन नेपाल सरकारले त्यत्ती ध्यान दिन सकेको छैन् ।
प्राप्ति पूर्वदेखि अवकाश पश्चातसम्मको अवधिमा सरकारले प्रभावकारी कदम चालेर यो पुस्तालाई सेवामा प्रवेशको द्वार खुला गर्नुपर्नेमा भर्नामै नकारात्म शैली अपनाईएको छ । उत्कृष्टलाई सेवामा प्रयास गराउनको लागि कुनै प्रयास गरेको देखिदैन भने अर्कोतिर सेवा प्रवेश भईसकेको जनशक्तीलाई समेत उचित कार्यविवरण सहितको जिम्मेवार कार्य वातावरण बनाउन सकेको छैन ।
नेपालको संघीयता प्ररम्भ भएको करिब एक दशक हुन लाग्दा समेत संघीयता कार्यान्वयन पूर्ण हुन सकेको छैन । संघीयताको विभिन्न आयाममध्ये प्रशासनीक संघीयताको कार्यान्वयनमा नेपाल अझै पूर्ण हुन सकेको छैन ।
सार्वजनिक प्रशासनलाई मार्गदर्शन गर्ने संघीय निजामती सेवा ऐन यो एक दशकको आजको मितिसम्म पनि पारित हुन सकेको छैन । उता सात प्रदेशका आफ्नो आफ्नो ऐन त्यसमा पनि प्रदेश निजामती र स्थानिय निजामती गरि फरक फरक ऐनको चाङ नै लागेको छ ।
त्यसमा पनि फरक फरक व्यवस्था, केहीमा फरक मत त केहीमा स्वागत । उता संघीय निजामती ऐन निर्माणमा देखिएको त्यो किचलो यो सवै यो पुस्ताले नजिकबाटै नियालीरहेको छ । यो प्रवृतिले यो पुस्ताको यो समुहलाई कस्तो असर पार्छ ।
सेवा प्रति कस्तो धारणा निर्माण गर्ला भन्नेमा नीति निर्मातालाई कुनै ध्यान आएको देखिंदैन । न त सार्वजनिक प्रशासनको नेतृत्वकर्ता विशेषतः जेन एक्स पुस्तालाई कुनै असर परेको देखिन्छ । यो पुस्ता बन्दै गएको संघीय निजामती सेवा ऐनको व्यग्र प्रतिक्षामा रहेको छ ।
यो ऐनले यो पुस्तालाई यो सेवामा प्रवेश गराउन के कसरी आकर्षणका विधि अपनाउछ । त्यो विधिको प्रभाव कस्तो पर्छ यो पुस्ता प्रतिक्षा गरेर बसेको छ । तर, एन निर्माणको क्रममा सुनिने बहस र अखबारे बहसमा यो विषय कहीँ कतै सुनिएको छैन ।
जेन जी पुस्ता विश्व परिवेशका घटना तथा परिवर्तनशील एकै छिनमा तत्काल सुचित हुन सक्ने क्षमता राख्दछ । उ विश्वको सार्वजनिक प्रशासनको नविन कार्यसम्पादन प्रक्रिया सुचना प्रविधिको प्रयोगको अवस्था, जनमुखी सेवा प्रवाहको अवस्था, सेवाको सुरक्षा र कार्यजिम्मेवारीको अवस्था नजिकबाटै नियालेर बसेको छ ।
त्यो विश्वस्तरको सार्वजनिक सेवा नेपालमै प्रदान गर्न इमान्दार भएर लाग्ने क्षमता पनि यो पुस्ताले राख्न सक्द छ । त्यसको लागि वातावरण निर्माण गर्ने प्रमुख दायित्व राज्यकै रहेको हुन्छ । जेन जी पुस्ताले परम्परागत प्रशासन सञ्चालनको सट्टा सामाजिक न्याय, समानता, जलवायुमैत्री तथा जनमैत्री सार्वजनीक सेवा दिन चाहान्छन् ।
परम्परागत सेवा प्रदान भन्दा सुचना प्रविधिमा आधारित भई गुणस्तरिय र दिगो सार्वजनीक सेवा प्रदान गर्न सक्षम छ । विश्व परिवेशमा भएका परिवर्तन मिनेट भरमै सुचित भई सो परिवर्तनलाई व्यवहारमा प्रयोग गर्न सक्षम छ यो जेन जी पुस्ता ।
यो पुस्ता सार्वजनीक प्रशासनलाई सुधार गरेर राज्यप्रति नै नागरिक धारण बदल्नुपर्ने आवश्यकतामा एकमत रहदै सेवा प्रदानमा नविनता र सरलता ल्याउनुपर्ने पक्षमा रहेको छ । तर, संसारभर नै प्रकृयामुखी र सेवाभन्दा स्वार्थमा लालायित हुने भन्ने आरोप पनि लाग्ने गरेको छ ।
त्यसलाई चिरेर नविन धारणा निर्माण गर्ने जिम्मेवारी यो पुस्तामा रहेको छ । यो पुस्ताले सार्वजनिक प्रशासनमा निकै चुनौती सामना गर्नुपर्ने छ । एकातिर यो पुस्ता आधुनिक प्रविधि र ज्ञानमा पोख्त छन् ।
उनीहरू आफ्नो क्षमता र विश्व परिवेशको परिवर्तन आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्न चाहान्छन् भने अर्कोतिर परम्परागत कार्यशैली, दशकौं पुराना कानुन र संगठनको जटिलटा जस्ता बाधकहरू यो तत्वहरूको कारण यो पुस्ता अफ्ठारोमा फलेको फर्सी जस्तो हुन पुगेको छ ।
न त आफ्नो कार्य आफ्नो क्षमता अनुसार प्रयोग गर्न पाएका छन् न त परम्परागत कार्यशैली प्रती सन्तुष्ट हुन सकेका छन् । विश्वको करिव ३०% जनसंख्या रहेको यो पुस्ता सुचना प्रविधिको युगमा जन्मिएर कृत्रीम बौद्धिकतासम्मको अनुभव गरेको यो पुस्ता प्रविधिमैत्री, रमाइलो गर्न मन पराउने, अस्थिर रहने जस्ता गुणहरू रहने विभिन्न अध्ययनले देखाएको छ ।
यो गुण सार्वजनिक प्रशासनको लागि सवल र दुर्लभ दुवै अवस्था हो । यो पुस्ता कार्यजिम्मेवारीलाई कानुनको परिधिमा रही प्रविधिको उच्चतम प्रयोग गर्दै सरलीकृत गरी सरल र सहज जनमुखी सार्वजनीक प्रशासन सञ्चालन गर्न सक्दछ भने अर्कोतिर अस्थिर र प्रचारमुखी शैलीले गर्दा सेवा प्रवाह दिगो भन्दा पनि प्रचारमुखीमात्रै रहने जोखिम रहन सक्छ ।
राज्य प्रणाली र त्यसले पारेको असरको कारण यो पुस्ता छोटो समयमै पलायन हुन सक्ने, परिवर्तित हुन सक्ने जोखिम पनि रहेको हुन्छ । यि र यस्ता केही दुर्वल पक्षमा सुधार गर्दै अवको सार्वजनिक प्रशासनको सवलीकरण र शुद्धिकरणको आशा यही जेन जी पुस्तामा रहेको छ ।