© २०२३
काठमाडौं, २ भदौ ।
दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा ‘लाइट स्ट्राइकिङ भेइकल’ सहित विभिन्न सैन्य सामग्री उपहार दिएका छन् ।
सोमबार बिहान नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर विदेशसचिव मिश्रीले ती सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । जंगीअड्डाका एक उच्च सैनिक अधिकारीका अनुसार, सैन्य सामग्री हस्तान्तरणको तयारी केही समयदेखि हुँदै आएको थियो ।
विदेशसचिवको नेपाल आगमनको अवसर पारेर उनी स्वयं जंगीअड्डा पुगेका थिए । उक्त अवसरमा मिश्रीले नेपाली सेनालाई प्रजनन ( ब्रिडिङ ) प्रयोजनका लागि २ वटा सैनिक कुकुर र ६ वटा घोडासमेत हस्तान्तरण गरेका छन् । साथै, केही स्वास्थ्य सामग्रीहरू पनि प्रदान गरिएको सैनिक स्रोतले जनाएको छ ।
सामग्री हस्तान्तरणपूर्व मिश्रीले नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा द्विपक्षीय हित र सैन्य सहकार्य विस्तारका विषयमा छलफल भएको जनाइएको छ ।
भारतीय विदेशसचिव विक्रम मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन आइतबार काठमाडौं आएका थिए । नेपाल आगमनपछि उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।
विदेशसचिव मिश्री सोमबार दिउँसो साढे २ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।