© २०२३
बुटवल, २ भदौ ।
श्री राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान तथा तहकिकात पूरा गरी दुई जनाविरुद्ध रुपन्देही जिल्ला अदालत, भैरहवामा मुद्दादायर गरेको छ ।
विभागले भारत, पंजाब, अमृतसर जिल्ला न्यूप्रताप नगर, जी.टी. रोड निवासी कुलदिप सिंह र नेपाल, लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला तिलोत्तमा–१६, कोटीहवा निवासी राम बहादुर बि.क. विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम कारबाही अघि बढाएको हो ।
अनुसन्धानबाट प्रतिवादीहरूले सुनका गरगहनाहरूको खरिद स्रोत, बिल–बिजक तथा भन्सार प्रज्ञापन पत्र नदेखाई भन्सार चोरी पैठारी गरी कारोबार गरेको र सो क्रममा राजस्व चुहावट गरेको पुष्टि भएको विभागले जनाएको छ ।
अनुसन्धानले प्रतिवादीहरूबीच मिलेमतोमा गरिएको राजस्व चुहावटको प्रकृति, गम्भीरता र रकमलाई मध्यनजर गर्दै मुख्य अभियुक्त कुलदिप सिंहलाई एक करोड पाँच लाख आठ हजार चार सय एघार रुपैयाँ तीस पैसा बराबरको बिगो कायम गरिएको छ । सो रकम बराबरको सुनका गरगहना जफत गर्नका साथै सोही रकम बराबरको जरिवाना र हदैसम्मको कैद सजायको माग गरिएको छ ।
त्यस्तै, मतियार राम बहादुर बि.क.लाई मुख्य अभियुक्तलाई हुने सजायको आधा अर्थात् बाउन्न लाख चौवन्न हजार दुई सय छ रुपैयाँ जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।
यसरी दुवै प्रतिवादीविरुद्ध जम्मा दुई करोड बैसठ्ठी लाख एकहत्तर हजार उनन्तिस रुपैयाँ बिगो, जरिवाना र सजायको माग गर्दै अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार राजस्व चुहावट नियन्त्रण तथा कानूनी कारबाहीका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय, सिद्धार्थनगर, भैरहवामार्फत सोमबार अदालतमा मुद्दा दायर गरिएको हो ।
विभागले यस्ता गतिविधिबाट राज्यलाई ठूलो आर्थिक क्षति हुने भएकाले राजस्व चुहावटमा संलग्नलाई कठोर कारबाही हुने चेतावनी दिएको छ ।