Butwal Today

विपिनको रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ‌ओली

२ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित तथा शीघ्र रिहाइ सुनिश्चित गर्न सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले विपिनको रिहाइ सरकारको गम्भीर जिम्मेवारी भएको उल्लेख गर्दै यसका लागि व्यापक कूटनीतिक प्रयास जारी रहेको जानकारी दिए ।

‘सरकार विपिनको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै रिहाइका लागि निरन्तर पहलमा जुटिरहेको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रस्थित नेपाली दूतावासहरूमार्फत नियमित समन्वय र संवाद गरिरहेको छ।’

प्रप्रधानमन्त्री ओलीले सरकार विपिनका परिवारको साथमा रहेको भन्दै सहानुभूति प्रकट गरेका छन् । उनका अनुसार, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायलका राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेट गरी रिहाइका लागि विशेष आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले यसअघि पनि मध्यपूर्वका महत्त्वपूर्ण नेताहरूसँग यो विषयमा संवाद गरिसकेको उल्लेख गरेका छन्।

सन्देशको अन्त्यमा प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि इजरायलमा रहँदै सहयोग गरिरहेका नेपाली समुदाय, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताहरूलाई आभार प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?