© २०२३
काठमाडौं, २ भदौ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक विद्यालय शिक्षा विधेयकमाथि छलफल जारी छ । विवादित विषयहरूलाई अलग राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ ।
गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न सकेको थिएन । आजको बैठकमा पनि सोही विषयमा प्रतिवेदन पेश हुँदैछ ।
आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसेको थियो, तर उक्त बैठकले पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुटाउन सकेन ।
निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेको छ । तर समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने धारणा रखिरहेका छन् ।
छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार, पूर्ण छात्रवृत्तिले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा ( विद्यालयमा उपलब्ध भएमा ) लगायतका विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा समेट्ने बताइएको छ ।
गत २२ साउनमा भएको बैठकमा आवास र पोशाक हटाउन प्रस्ताव राखिएको थियो, तर सदस्यहरूले अस्वीकृत गर्दा त्यो प्रस्ताव पारित हुन सकेन । यिनै विषयमा निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । त्यस्तै, शिक्षक महासंघले पनि विधेयकमा असन्तुष्टि जनाउँदै भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।