Butwal Today

विद्यालय शिक्षा विधेयकको छलफल जारी

२ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २ भदौ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक विद्यालय शिक्षा विधेयकमाथि छलफल जारी छ । विवादित विषयहरूलाई अलग राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ ।

गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न सकेको थिएन । आजको बैठकमा पनि सोही विषयमा प्रतिवेदन पेश हुँदैछ ।

आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसेको थियो, तर उक्त बैठकले पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुटाउन सकेन ।

निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेको छ । तर समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने धारणा रखिरहेका छन् ।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार,  पूर्ण छात्रवृत्तिले शिक्षण शुल्क,  परीक्षा शुल्क,  पाठ्यपुस्तक तथा शिक्षा सामग्री,  पोशाक,  यातायात,  आवासीय सुविधा ( विद्यालयमा उपलब्ध भएमा ) लगायतका विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा समेट्ने बताइएको छ ।

गत २२ साउनमा भएको बैठकमा आवास र पोशाक हटाउन प्रस्ताव राखिएको थियो,  तर सदस्यहरूले अस्वीकृत गर्दा त्यो प्रस्ताव पारित हुन सकेन । यिनै विषयमा निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । त्यस्तै, शिक्षक महासंघले पनि विधेयकमा असन्तुष्टि जनाउँदै भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?