© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ को अद्यावधिक र नेपाल टेलिकमको प्रगतिसम्बन्धी जानकारी प्राप्त गरेका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ब्रिफिङमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल, र नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधान सहभागी थिए ।
हालै सरकारबाट राष्ट्रिय कृत्रिम बौद्धिकता ( एआई ) नीति, २०८२ स्वीकृत भएको सन्दर्भमा मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई समयसापेक्ष परिमार्जन र विस्तार गर्न गृहकार्य सुरु गरिसकेको जानकारी दिइएको हो ।
नयाँ प्रस्तावित डिजिटल नेपाल फ्रेमवर्क २.० ‘फास्ट’ मोडेलमा तयार गरिएको छ । यसमा डिजिटल पूर्वाधार, पहुँच विस्तार, जनशक्ति विकास, र संस्थागत रुपान्तरण लगायतका आयाम समेटिएका छन् ।
फ्रेमवर्कमा पहिलेदेखि समावेश क्षेत्रहरू कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, वित्त र सुशासनका साथै सामाजिक सुरक्षा, विपद् व्यवस्थापन र जलवायु परिवर्तन जस्ता समसामयिक विषय थप गरिएको छ ।
फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा डिजिटल रुपान्तरण परिषद् गठन गर्ने प्रस्ताव गरिएको छ । प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि लागू हुनेछ ।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको थियो, जसलाई उनले सुशासन, विकास र समृद्धिका लागि दीर्घकालीन नीतिगत आधारका रूपमा अघि सारेका थिए ।