© २०२३
लमही, २ भदौ ।
घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र बहादुर शाहले आफ्नो राजीनामा स्वीकृत गरिएको जानकारी कार्यपालिका बैठकमा पुग्दा मात्रै पाएको गुनासो गरेका छन् । साथै, उनले बैठकमा सहभागी हुन नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार बिहान ७ बजे बोलाइएको कार्यपालिका बैठकमा उपस्थित भएका शाहले आफूलाई बैठक कक्षभित्र छिर्न दिइएन भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् ।
‘म बिहान ५ बजे घोराही–१५ स्थित तरकारी बजारमा गई त्यहाँको समस्या बुझेर सीधै कार्यपालिका बैठकमा पुगेको थिएँ,’ उनले लेखेका छन्, ‘तर नगरप्रमुख नरुलाल चौधरीले रिसाएर ‘बस्न पाउनुहुन्न, बाहिर जानुस्।’ भन्नुभयो ।
शाहका अनुसार आफूले कारण सोध्दा ‘तपाईको २०८०/३/ ११ गते दियको राजिनामा पत्र अनुसार स्वीकृत भईसक्यो’ भन्नुभयो ।” उक्त पत्रमा यस अघि नगर प्रमुख चौधरीले हस्ताक्षर नभएको प्रतिक्रिया दिएको भएपनि अहिले भने स्वीकृत गरेको भन्दै उनले गुनासो गरे ।
‘त्यति मात्रै होइन, मलाई ‘धेरै नबोल्नूस्, बाहिर निस्कनूस्’ भनेर हकारियो,’ शाहले गुनासो गर्दै भने, ‘यो व्यवहार अत्यन्त अपमानजनक र अनौपचारिक थियो ।’
आफूले राजीनामा दिए पनि त्यसको विधिवत् प्रक्रिया नटुंगिँदै कार्यपालिका बैठकमा सहभागी हुन नदिइएको घटनाले असहज महसुस गराएको उनको भनाइ छ ।