Butwal Today

अर्घाखाँची अस्पतालमा विशेषज्ञ डाक्टरसहित सेवा

२ भाद्र २०८२, सोमबार
अ+
अ-

अर्घाखाँची, ०२ भदौ ।

अर्घाखाँची अस्पताल सन्धिखर्कमा नयाँ सेवाहरू थप गरिएको छ । पछिल्लो समय जिल्ल्लाबासीको मन जित्दै आइरहेको अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सेवाहरू थप गरिएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगन्नाथ तिवारीले बताए ।

बिरामीको अवस्थालाई मध्यनजर गर्दै हाल अस्पतालमा दैनिक रूपमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुजन शर्माबाट बिरामीको चेकजाँच साथै अप्रेसन सेवा तथा विशेषज्ञ डाक्टर अनुपकुमार गुप्ताबाट दैनिक रूपमा हाड जोर्नी विशेषज्ञ सेवासँगै अप्रेसन सेवा समेत उपलब्ध गराइएको प्रमुख तिवारीले बताए ।

साथै अस्पतालले मुटुको भिडियो एक्स रे इको सेवा, रङ्गिन भिडियो एक्स रे सेवा, आँखाको उपचार सेवा, एम डिजिपि विशेषज्ञ बाट ओपिडीमा नसर्ने रोगको उपचार सेवा थप गरिएको छ ।

साथै अस्पतालले आगामी दिनहरूमा डाइलासिस सेवा, इन्डोस्कपी (इन्डोसकपी) सेवा थप गर्ने र विशेषज्ञ तथा ल्याब सेवालाई बिस्तार गर्ने योजना रहेको एम डिजिपी विशेषज्ञ डाक्टर पवन कुमार शाहले बताए ।

२०४५ सालमा स्थापना भई १५ बेड क्षमतामा सञ्चालनमा आएको अस्पतालमा हाल प्रदेश सरकारको प्रस्तावित ५० बेड क्षमतामा स्वास्थ्य सेवा प्रदान गरिने भने पनि हाल अस्पतालले ६१ वटा बेड सञ्चालन गरी बिरामीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

११ औं तहको मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको नेतृत्वमा ६६ जनाको स्वीकृत दरबन्दी भए पनि अहिले अस्पतालमा स्थायी, समिति करार, दरबन्दी करार, छात्रवृत्ति करार,अन्य कार्यक्रम करार र एनएसआइ करार गरी १ सय १ जना कर्मचारी रहेका छन् । जसमध्ये २ जना अध्ययन बिदामा रहेको सूचना अधिकारी निम रानाले बताए ।

अस्पताल प्रमुख डाक्टर तिवारीका अनुसार अस्पतालको व्यवस्थापन तथा सङ्गठन सर्बे नहुँदा प्रस्तावित अस्थायी दरबन्दीमा सञ्चालन गर्नुपरेको, अस्पतालको भवन जीर्ण रहेको, विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको, भवन निर्माण प्रक्रियामा ढिलाइ भएको,ब्लड बैङ्क नहुँदा निःशुल्क रूपमा रक्तदान सेवा प्रदान गर्न नसकिएको जस्ता समस्याहरूका कारण सोंचजस्तो सेवाहरू प्रदान गर्न नसकिएको हो ।

अस्पतालमा दैनिक रूपमा २ सय देखि ३सय ५० जना सम्म बिरामीहरूलाई चेकजाँच तथा उपचार सेवा प्रदान गर्दै आइरहेको सूचना अधिकारी निम रानाले बताए । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, अन्तर्गत सेवा, बहिरङ्ग सेवा, रेडियोलोजी सेवा, प्रयोगशाला सेवा, फार्मेसी सेवा लगायतका अन्य सेवाहरू सञ्चालन गर्दै आएको छ ।