Butwal Today

दक्षिण कोरियामा कोमामा रहेका एक नेपालीको मृत्यु

२ भाद्र २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २ भदौ

दक्षिण कोरियाको बुसानस्थित अस्पतालमा उपचाररत उदयपुर,  चौदण्डीगढी–५ बेल्हाका कमल चौधरीको निधन भएको छ ।  डेढ महिनादेखि कोमामा रहेका चौधरीको उपचारकै क्रममा निधन भएको हो ।

एकाएक बेहोस भएर अस्पताल भर्ना गरिएका चौधरी लामो समयसम्म अचेत अवस्थामै थिए । दक्षिण कोरियामा रहेका उनका सालो पुरुषोत्तम चौधरीले उपचारकै क्रममा निधन भएको पुष्टि गरेका हुन् ।

कमल चौधरी के कारण अचेत भए भन्ने विषयमा उनका परिवार अझै अनभिज्ञ छन् । उनी उपचाररत रहँदा कहिलेकाहीँ हातखुट्टा चलाउने र आँखा झिम्क्याउने जस्ता हल्का प्रतिक्रिया देखाउँथे ।

अचेत हुनु एक महिनाअघि उनले काम गर्दै आएको कम्पनी छाडेका थिए । त्यसपछि रोजगारीको खोजीमा रहेका उनी कोरियाको एक सेल्टरमा बसिरहेका बेला अचानक बेहोस भएका थिए । प्रहरीले एम्बुलेन्समार्फत उनलाई अस्पताल पुर्‍याएको थियो । चिकित्सकहरूले उनको टाउकोमा रगत जमेको पत्ता लगाएका थिए ।

घटनाबारे जानकारी पाएपछि दक्षिण कोरियास्थित नेपाली राजदूतावासले चौधरीको परिवारसँग सम्पर्क गरेको थियो । दूतावासका अनुसार चौधरीको उपचारमा हालसम्म १६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर,  उक्त रकम तिर्न सक्ने आर्थिक अवस्था चौधरीको परिवारसँग छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?