© २०२३
समाचार सारांश
सुनवल नगरपालिकाले खोलाजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा आदिको अवैध तस्करी र बेथिति नियन्त्रण गर्न सक्रिय अभियान सञ्चालन गरेको छ ।
बेवारिसे भण्डारणहरू जफत गरेर बिक्री गर्दा डेढ करोडभन्दा बढी राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख विमला अर्यालको पहलमा चोरी तस्करी नियन्त्रणको कार्य अघि बढाइएको हो ।
नवलपरासी, ०२ भदौ ।
जिल्लाको सुनवलस्थित खोलामा आयोजनाको आडमा खोलाजन्य पदार्थको चोरी तस्करी नियन्त्रण गर्दै बेवारिसे भण्डारण जफत गरेर सुनवल नगरपालिकाले डेढ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षको सुरुदेखि नै नगरप्रमुख विमला अर्यालले पालिका भित्रको चोरी तस्करी नियन्त्रण गर्दै खोलाजन्य समग्रीमा हुने गरेको बेथिती सुधार्न जफत अभियान नै चलाएर ती सामग्री विक्री वितरण गरेर सो राजस्व संक्लन भएको उनको सचिवालयले जनाएको हो ।
अवैध भण्डार जफत गर्ने अभियान चलाउँदा आन्तरिक र बाह्य दुबै तर्फबाट नगरप्रमुख अर्याललाई दबाब (थे्रटं) थियो, तर पनि उनी निडर भएर नै अभियानलाई निरन्तरता दिइनुको प्रतिफल डेढ करोड राजस्व सङ्कलन भएको छ ।
बेथिति सुध्रिएको छ, नगरप्रमुख अर्यालले नगरपालिकामा रहेको पुराना बेथिति सुधार्दै नयाँ नयाँ कार्यक्रम समेत आरम्भ गरेपछि सुनवलकै केही इमानदार नगरवासी त्यसमा पनि अधिकांश महिला अभियन्ताले पनि साथ दिन थालेका थिए ।
अहिले नगरप्रमुख अर्यालकै पहलमा महिलामैत्री अभियान सञ्चालन गरेर करोडौँको अनुदान भित्राएर पूर्वाधार बनाउन कार्यमा जुटेको उनका सचिवालयका प्राविधिक रेसम शर्माले बताए । ‘मेयर अर्याल लुम्बिनी प्रदेशकै एक महिला मेयर मात्रै नभई एक साहसिक मेयरको रूपमा पनि पहिचान बनाउँदै छिन्,’ उनले भने, यसले उनको आगामी राजनीतिलाई थप प्रभावकारी बनाउँदै गएको छ ।
नगरपालिकाको स्रोत व्यवस्थापनमा आफू निरन्तर लागेको मेयर अर्यालले बताइन् । यसमा लागि सबैको साथ र सहयोग चाहिन्छ, नै उनले भनिन्, धेरै समय अहिले आन्तरिक व्यवस्थापनमै खर्चन परेको छ, होइन भन्ने बाहिरी श्रोतको व्यवस्थापन धेरै गर्न सकिन्थ्यो ।
स्रोत व्यवस्थापनका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँगै अन्य दातृ निकाय र आयोजना परियोजनासँग सहकार्य र समन्वय गरियो भन्ने थप आर्थिक स्रोत जुटाउन सकिन्छ । यसको उदाहरण उनले महिला मैत्री नगर (सिटी फर ओमेन) पनि एक भएको दाबी गरिन् । नगरपालिका भित्र पनि खोलानाला एक प्रमुख श्रोत हो, तर वर्षौँदेखि अवैध दोहन भइरहेको थियो ।
त्यसलाई जफत गर्ने अभियान पनि चलाएको हुँ उनले थपिन्, डेढ करोड जति राजस्व सङ्कलन भयो, त्यसमा पनि अभियानकै क्रममा भण्डारणहरू खोला तस्कर र माफियाहरूले यताउता पारेका थिए । बरामद गरिएका सामग्री पनि ठेक्का लगाउन अवरोध हुँदै आएको बताउँदै उनले अन्तिम समयमा परासी महेशपुर सडक आयोजना निर्माण गर्ने निर्माण व्यवसायीले इ–टेन्डर मार्फत लिलाम सकारेको छ ।
उसलाई ती माल बस्तु उठाउन केही कठिनाइ भई रहेको सुनिएको बताउँदै कार्यालय प्रमुख आउने बित्तिकै उसको मौज्दात प्रमाणित गरी सहजीकरण गरिने छ । स्थानीय प्रहरी कार्यालय र वन कर्मचारीको मिलोमतोमा खोलाजन्य पदार्थ (ढुगाँ, गिट्टी, बालुवा, मिस्कट) को ठुलो मात्रामा तस्करी हुने गरेको थियो ।
सुनवल नगरपालिकाको तुरिया खोला भित्रै पूर्वपश्चिम राजमार्ग निर्माण आयोजनाका खोलाजन्य पदार्थको प्रशोधन केन्द्र राखिएका छन् । तिनै प्रशोधन केन्द्र नजिकै मिनी पहाड जस्तै खोलाजन्य पदार्थ भण्डारण गरिएका थियो ।
भण्डारण नजिकै खोलाको किनारमा अवैध ढुगाँ र मिस्कट झिकेर राखिएको अवस्थामा जहाँ त्यही भेटाउने गरिएको स्थानीयले बताउँदै आएका थिए । खोलाको तस्करी गराउने पहुँचवाला नै भएका कारण एक किलोमिटरको दुरीमा रहेको बन र प्रहरीको कार्यालय भए पनि उनीहरू रोक्नु भन्दा गुनासो पुगेपछि त्यो जिम्मेवारी नगरपालिकाको भन्दै पन्छिने गरेका थिए ।
तस्करसँग प्रहरीले नै मोटो रकम उठाउने गर्दा खोला तस्करी नियन्त्रण प्रति गैर जिम्मेवारी अभिव्यक्ति आउने गरेका थियो । आयोजनाको आडमा हुने खोला तस्करीबारे, स्थानीयको बुझाई छ कि आयोजनाको निर्माण कार्य किन ढिलाइ हुन्छ ? वा किन ढिलाइ गराइन्छ ? किन भने त्यसैको आडमा खोला तस्करी गरी अकुत सम्पत्ति कमाउने केही गिरोह सक्रिय छन् ।
आयोजना जति ढिलो भयो, उत्ति धेरै दिन कमाउन सकिन्छ, आयोजनाकै नाममा खोलामै प्रशोधन केन्द्र राखिएका छन्, कोही आयो भन्ने आयोजनाकै ती सामग्री हो, भनी झुक्याउन सकिन्छ, मौका छोपेर बाहिर बेच्न सकिन्छ ।
तस्करीको हल्ला भयो र जो जहाँ पायो, त्यही कमाउने मेसो बन्छ, धमिलो पानीमा माछा मार्ने भनेको यस्तै रहेछ ।