Butwal Today

राप्रपाद्वारा परराष्ट्रमन्त्री राणाको राजीनामा माग

१ भाद्र २०८२, आइतबार
अ+
अ-

काठमाडौं, भदौ १ ।

 

राष्ट्रिय प्रजातन्त्र  पार्टी  (राप्रपा) ले  परराष्ट्रमन्त्री  डा. आरजु राणा देउवाको राजीनामा माग गरेको छ ।  इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारमा परराष्ट्र मन्त्रालय पूर्णतः निष्क्रिय रहेको आरोप लगाउँदै राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्रमन्त्री राणाको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन् ।

शाहीले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री तथा मन्त्रालयका कर्मचारीहरूमा आवश्यक कूटनीतिक दक्षताको अभाव रहेको भन्दै तीव्र आलोचना गरेका छन्। उनले विपिन जोशीको उद्धारमा प्रभावकारी पहल गर्न नसक्नु मन्त्रालयको असक्षमता र उदासीनताको प्रमाण भएको बताए।

नागरिकको जीवन रक्षा गर्न नसक्ने, पीडामा परेकाहरूको घाउमा मलहम लगाउन असमर्थ मन्त्री र कर्मचारीहरूलाई पदमा बसिरहने कुनै नैतिक तथा प्रशासनिक औचित्य नरहेको शाहीको भनाइ छ ।

उनले परराष्ट्रमन्त्री राणाले तत्काल राजीनामा दिनु पर्ने माग गर्दै कूटनीतिक जिम्मेवारी पुरा गर्न नसक्ने कर्मचारीहरूलाई समेत जिम्मेवारीबाट मुक्त गर्नुपर्ने धारणा राखे।

नेपाली नागरिकहरू विदेशमा समस्यामा पर्दा उनीहरूको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको, विशेषगरी परराष्ट्र मन्त्रालयको प्राथमिक दायित्व रहेको भन्दैँ यस्तो संवेदनशील समयमा मन्त्रालय मौन बस्नु गम्भीर लापरबाही रहेको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?