© २०२३
काठमाडौं, १ भदौ ।
गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली ( राजेन्द्रबहादुर गोर्खाली ) ठूलो रकमको चेक बाउन्स प्रकरणमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोलीले उनलाई राजधानीको चन्द्रगिरी क्षेत्रबाट पक्राउ गरी भद्रकालीस्थित हिरासतमा ल्याएको हो ।
गोर्खालीमाथि १० करोड रुपैयाँ बराबरको चेक बाउन्ससम्बन्धी जाहेरी परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरका एक अधिकृतका अनुसार सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गरिएको हो ।
यद्यपि, पीडितको नाम भने सार्वजनिक गरिएको छैन । गोर्खालीले उक्त रकम के प्रयोजनका लागि लेनदेन गरेका थिए भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको छ ।
पक्राउ परेपछि उनलाई बैंकिङ कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । गोर्खाली विगतमा पनि पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए ।
२०७९ सालको प्रतिनिधिसभा चुनावमा उनी नेपाली कांग्रेसबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा उम्मेदवार सिफारिसमा परेका थिए, तर अन्ततः टिकट पाउन सकेनन् ।
२०५८ सालमा सुन्धारास्थित बेबी लोन डिस्कोमा भएको रोशन लिम्बुको हत्यामा पनि उनी संलग्न रहेका थिए । गोर्खालीले तरबार प्रहार गरी हत्या गरेको पुष्टि भई सो प्रकरणमा उनले १० वर्षको कैद सजाय भोगेका थिए ।
कारागारबाट रिहा भएपछि पनि उनी विभिन्न मुद्दामा पक्राउ पर्दै रिहा हुँदै आएका छन्, जसमा हातहतियारको अवैध प्रयोग, लेनदेन ठगी र गुण्डागर्दीका मुद्दा प्रमुख छन् ।