© २०२३
दुःख एवं खेदका साथ भन्नु परिरहेको छ कि आज हामी कुन बाटो हिडिरहका छौँ र कहाँ पुगिरहेका छौँ ? हामीलाई नै थाहा छैन । आफू हिँडिरहेको बाटो आफैलाई थाहा नहुनु बडो बिड्रम्वनाको कुरो हो ।
न बाटो देखाएर हिँडाउनेलाई गन्तव्यको थाहा छ न त हामी हिँड्नेहरूलाई नै आफ्नो यात्राको भञ्ज्याड कहाँ हो, त्यो यकिन छ । यसरी अहिले अन्योल तथा बिचल्लीको स्थितिमा छ । हाम्रो देश नेपाल अहिले देश कता पुगिरहेको छ भन्ने तर्फ कसैको ध्यान पुगिरहेको देखिँदैन । यो हिँडाइले जब एक दिन दुर्घटनामा पर्ने छौँ, त्यो भयानक दुर्घटना पछि बल्ल हाम्रो चेत खुल्ने छ ।
सबै सकिएर चोट खाएपछि खुलेको चेतनाले केही काम दिनेवाला छैन । त्यसैले परिस्थिति गम्भीर नबन्दै जागौँ । जागते रहो । जागते रहो । हालै राष्ट्रिय मानव अधिकार आयोगको टोली भैरहवाले निरीक्षण गर्न जाँदा सहकारी ठगीको अभियोगमा जेल सजाय भोगिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूव गृह तथा उपप्रधानमन्त्री रवि लामिछाने माथि जेल प्रशासनले अमानवीय व्यवहार गरेको कुरा बाहिर आयो ।
त्यसो त रास्वपासित सम्बद्ध व्यक्तिहरूले यसअघि पटक पटक सरकारसित यस्तो गुनासो पोखिरहेको सुनिन्थ्यो तापनि त्यसमा कति सत्यता छ भन्ने कुरा पूरा यकिन थिएन । अहिले राष्ट्रिय मानव अधिकार आयोगको टोली जेल निरीक्षण पछि फर्के पश्चात् उसले दिएको प्रतिकृयाले रवि लामिछानेमाथि अत्यन्तै क्रुर व्यवहार भएको जनाएको छ ।
भैरहवा जस्तो गर्मी ठाउँमा हावानकुलित ए.सी. जडान नभएको कोठामा एक्लै राखेर बाहिरबाट भ्याल टालिएको प्रकाश र हावासमेत छिर्न नदिई गुम्स्याएर राखिएको र पुस्तक तथा पत्रपत्रिकाहरू पढ्न समेत नदिइएको खबरले सरकार हदैसम्म निर्दयी भएको प्रमाणित हुन्छ ।
सरकारले रविमाथि किन यस्तो अभद्र व्यवहार गरिरहेको छ ? बन्दीमाथि यति क्रुर व्यवहार त पंचायतकालमा त के राणाकालमा पनि गरेको थाहा पाइएको छैन । जसरी हिटलरले आफ्ना विरोधीहरूलाई ग्याँस चेम्बरमा गुम्स्याएर माथ्र्यो भन्ने सुन्थ्यौं ।
आज रवि लामिछानेमाथि ४५ डिग्रीसम्मको गर्मीमा वन्द कोठामा वाहिरबाट झ्याल समेत टाली उकुसमुकुस पारेर राखिएको छ भन्ने सुन्नुपर्दा हामीले अबलम्वन गरेको कथित लोकतान्त्रिक शासन व्यवस्थापप्रति नै लज्जाबोध हुन्छ ।
स्मरण रहोस् कि रवि गृहमन्त्री हुँदा सत्ता र शक्तिका आडमा भएका व्यापक अनियमितता र भ्रष्टाचारका सम्बन्धमा छानविन पछि लुकाएर राखिएका फाइलहरू धमाधम खोल्न लगाउँदा छानविनका क्रममा दोषी देखिएका जोसुकैलाई यो वा त्यो नभनी एक एक गरी कानुनको धारमा खडा गराउन थालेपछि भ्रष्टाचारी र माफियाहरू अतालिएर सरकार नै ढाली उनलाई सहकारी ठगीको मुद्दा भिराएर उनीमाथि प्रतिशोध साँधिएको छ भन्ने कुरामा आम सर्बसाधारण र स्वयं सहकारी पीडित सवैलाई थाहा छ ।
एकातिर सहकारीबाट करोड करोड होइन अरब अरब ठगी गरेका छौ भन्नेहरू शान दिदै चिल्ला कारमा संसद भवनभित्र छिर्ने गरेको देखिन्छ भने अर्कोतर्फ खास प्रमाण पुष्टि नै नभएका रविलाई बिगो बरावरको रकम धरौटी राखेर तारिखमा छुट्ने सुविधा नदिइनु र काठमाडौं जेल सरुवाको लागि निवेदन दिँदा त्यसमा पनि सुनुवाई नभई अन्त्यमा दवावमा बल्ल उनलाई काठमाण्डौं सरुवा गरिएको छ ।
यस सम्वन्धमा सरकारको अविलम्व ध्यान जानुपर्दछ । एउटा कथन छ– सुतीरहेको मृगले भीषण आँधीहुरी आइरहेको बेला आफ्नो टाउको घुसारेर सबै कुरा ठीक छ भन्छ रे । आज हाम्रा सत्तासीनहरूले पनि यस्तै नीति तथा व्यवहार अवलम्वन गर्नाले अहिले देश डरलाग्दो अवस्थामा पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूका निरंकुश व्यवहारले लोकतन्त्रमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
जनताले लोकतन्त्रलाई उल्लासको शैलीमा लूटतन्त्रको संज्ञा दिइरहेका छन् । केपी शर्मा ओली, शेरबहादुर सरकारले किन जनताको मनोभावना बुझेर सुझाव बुझावका साथ काम गर्दैन ? किन प्रधानमन्त्रीले आफू बाहेक अरूलाई मान्छे गन्दैनन् ? सबैलाई केही नबुझे लाटो गोजेग्रे भनी आफू मात्र सर्वशक्तिमान् सर्वोपरि छु भन्ने फोवियावादबाट ग्रस्त छन् ? उनको मनमा सुझ बुझ किन पलाउदैन ? यो प्रश्न चारैतिर व्याप्त छ ।
हरेक घरमा हरेक टोलमा चोक चोकमा यही प्रश्न छ । स्मरण रहोस् कि यहाँ रविले मात्र वन्दीगृहमा विशेष सुविधा पाउन भनिएको होइन । जेलको नियमानुसार सबैलाइ बराबर व्यवहार हुनुपर्छ भनिएको मात्र हो । प्रतिशोध नसाँधियोस् भन्ने हो । अब यसरी हुदैन ।
यस्तो गाइजात्रे चालाबाट देश कहिल्यै उँभो लाग्दैन । सबै जनता हिजोको निरंकुशताको समयमा जस्ता छैनन । अहिले सबैमा नयाँ जागरणको लहर आएको छ । जनताको चेतनाको स्तर हिजो भन्दा धेरै माथि उठेको छ ।
विभिन्न आन्दोलनका अनुभवले खारिएका जनता चाहे खेतमा हलो जोतिरहेका हुन् चाहे गोठमा काम गर्ने गोठाला, कारखानामा घन ठोक्ने मजदूर हुन् या आधा पेट खाई फाटेका चप्पल र टालेका कपडा लाउने दुर्गम जिल्लाका प्राइमरी स्कूल शिक्षक अथवा कार चढेर विश्वविद्यालयमा पढाउन जाने प्राध्यापक, डाक्टर, मेडिकल डाक्टर, इञ्जिनियर वा जो कोही सबैमा आफ्नो देशको दयनीय स्थितिको मुख्य कारण हाम्रा नेताहरूको अकर्मण्यता नै हो भन्नेमा कसैको विमत्ति छैन । हरेक समस्याको मूल जड के हो ? भन्ने तथ्यलाई बुझ्न नसक्ने कोही छैनन् ।
त्यसैले अब जनतालाई गुमराहमा राखेर शासन गर्छु भनी कसैले नसोचे हुन्छ । अब साना तिना कुरा गरेर जनता अल्मलाउन सकिन्छ भन्ने कसैले नसोच्दा हुन्छ । जनतालाई मृग मरिची भित्रको आकर्षक चित्र प्रस्तुत गरेर आफनो ठगीधन्दा चलाउँछु र यसमा सफल हुन्छु भन्ने ठान्नु मूर्खताको द्योतक हुनेछ ।
आफ्नै देशमा विभिन्न कालखण्डमा भएका प्रजातान्त्रिक तथा जनअधिकारसित सरोकार राख्ने आन्दोलनको अनुभव एवं संचार माध्यमहरूको उपयोगबाट समसाययिक विश्वमा घटित घटनाक्रमहरू सबैको शिक्षाको देशमा जनजागरणको अभूतपूर्व लहर ल्याएको छ ।
यस्तो अवस्थामा सत्ताधारीहरूले मनपरितन्त्र चलाई जनतालाई दवाएरै ठेगान लाउँछु भन्ने सोच राख्छन् भने सरकार र जनताबीचको पारस्परिक अविश्वास अन्तविरोध, विदेशीद्वश क्तिहरू खेलेर एक अर्काका विरुद्ध उचाल्ने र पछार्ने काममा सव्रिmय हुने हो भने त्यसैले न सरकारलाई फाइदा हुन्छ, न त जनता नै लाभान्वित हुने हुन् ।
त्यसको फाइदा उठाउने विदेशी शक्तिले हो । यस तथ्यप्रति सत्तामा रहेकाहरूको ध्यान जान सकेको छैन । खाली केपी ओली, शेरवहादुर मिल्ने र काँग्रेस एमाले पार्टीलाई पार्टीका आम कार्यकर्ताहरूलाई फुटवल खेलाएझै खेलाउने र आलो पालो सत्तामा जाने र सत्ता हल्लाएपछि उपद्रो उपद्रो भाउतोमा लागि लोकतन्त्रलाई धरापमा पार्ने यही निहित उद्देश्यले शक्तिकेन्द्रले प्र.म.केपी ओली र शेरवहादुरलाई चलाइरहेको छ ।
शक्ति हातमा लिएकाहरूले यी जनता भेडा हुन् यिननले हामीलाई केही गर्दैनन् । अरू हुने गिने वुद्धिजीवीहरूलाई पनि प्रलोभनमा फसाएर आफू अनुकुल चलाउन सकिन्छ भनी सोच्नु ठूलो गल्ती हुने छ । दुःखी पीडित सोझा नेपाली जनतामाथि हामीले जे गरे पनि हुन्छ । यी हाम्रा स्थायी मतदाता हुन् ।
चुनावमा ५–७ वटा भैसी राँगा, १०, १५ वटा खसीबोका, ८–१० ग्यालेन सस्तो ठर्रा र सवैका हात हातमा अलिअलि पैसा थमाईदिनेहो भने हाम्रो विरोधमा कसैको दाँत गल्नेवाला छैन । आगामी ०८४को निर्वाचनमा पनि हामी नै आउने छौँ ।
हाम्रै एकछत्र राज कायम हुनेछ भन्ने सोच्नु गम्भीर भूल हुने छ । ठूलो गल्ती हुनेछ । हामीेले जे जे र जस्ता जस्ता गल्ती दोहाराएपनि जनतामा धैर्यको बाँध भत्कनेवाला छैन भन्ने सोच राखी सत्ता र शक्तिको चरम दुरूपयोग गरी लोकतन्त्रले उपलब्ध गराएका सुविधा जतिआफू र आफ्ना वरपरका अरोटे परोटे झोलेहरूलाई उपलब्ध गराउने जनतालाई चाहि सधै जिल्ल वनाउने यस्तो प्रकृयामाथि नेताहरूले विचार गर्नुपर्नेछ ।
हाम्रा नेताहरूले के कुरा बुझी राखुन् भने जब जनतामा धैर्यको बाँध टुट्छ, तब आक्रोश जन्मन्छ । जन आक्रोशको अगाडि शक्तिको केही सीप लाग्दैन । यो एतिहासिक तथ्य हो । तसर्थ प्रधानमन्त्री केपी ओली जी, गठबन्धनका मूर्धन्य शेरबहादुर देउवाजी तपाईहरू होसमा आउनुहोस् ।
तपाईहरूको बेहोसीले नेपाल डुब्न लाग्यो । नेपालसगैं हामी सबै नेपाली डुब्ने स्थितिमा पुग्यौं । तपाईहरूको स्वेच्छाचारिताले देशको लोकतन्त्र डुब्दैछ । लोकतान्त्रिक आदर्श माथि बञ्चरो हानिदैछ । बज्रपात हुदैछ । तसर्थ अझैपनि केही समय बाँकी छ । तपाइहरूले चाहेमा लोकतन्त्रलाई जोगाउन सकिन्छ । लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण दिन सकिन्छ ।
जनमुखी आधारलाई बलियो बनाई जनआकांक्षा अनुरूप धेरै काम गर्न सकिन्छ । सरकारमा बस्ने पात्रहरूको यसैमा ध्यान केन्द्रित होस् । सरकार ठूलो भन्ने भावले होइन देश ठूलो भन्ने देशभक्ति भावले चल्नुपर्छ ।