© 2026
बुटवल, १ भदौ ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले रात्रीकालीन स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन विशेष पहल थालेको छ । अबदेखि रातको समयमा आकस्मिक उपचारदेखि अन्य जटिल खालका सेवामा सहजता ल्याउन अस्पतालले छुट्टै ड्यूटी अफिसर तोक्ने व्यवस्था गर्न लागेको हो ।
अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार भदौ ८ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार, प्रत्येक दिन राति ८ बजेदेखि बिहान ८ बजेसम्म फरक–फरक कर्मचारीलाई ड्यूटी अफिसरको जिम्मेवारी दिइनेछ ।
उनीहरूले आकस्मिक कक्ष तथा मेडिकल वार्डमा भर्ना भएका बिरामीको उपचार व्यवस्थापन, समन्वय र निगरानी गर्ने जिम्मा पाउनेछन्। साथै, रातभरको उपचार गतिविधि र सेवासम्बन्धी विवरण अस्पताल प्रशासनलाई प्रतिवेदन गर्ने व्यवस्था गरिएको छ ।
डा. ढकालले भने, “२४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको भए पनि रातको समयमा जटिल खालका उपचार, विशेषज्ञसँगको परामर्श र व्यवस्थापनमा देखिने चुनौतीलाई सहज बनाउन ड्यूटी अफिसरको व्यवस्था गरिएको हो । सम्भवतः सरकारी अस्पतालमै यो पहिलो अभ्यास हुनेछ ।”
लुम्बिनी प्रादेशिक अस्पताल दैनिक करिब २ हजार बिरामीले उपचारका लागि आउने प्रदेशकै ठूलो अस्पताल हो । पछिल्लो तथ्याङ्कअनुसार, गत वर्ष मात्र ३ लाख ४८ हजार ९७१ जनाले ओपीडी सेवा लिएका थिए भने ७२ हजार २४४ जनाले आकस्मिक सेवा प्रयोग गरेका थिए ।
यस्तो भीडबिच रात्रीकालीन समयमा बिरामी र आफन्तले भोग्ने समस्या, समन्वय अभाव र व्यवस्थापनका कमजोरीलाई कम गर्न यो नयाँ कदम चालिएको हो ।
ड्यूटी अफिसर प्रणाली अन्तर्गत, रातमा बिरामीले समस्या परेमा सिधै ९८६७००४४२२ नम्बरमा फोन गरेर ड्यूटी अफिसरसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । यसले आकस्मिक समयमा बिरामी र आफन्तलाई तत्काल मार्गदर्शन तथा सहयोग पाउने अपेक्षा गरिएको छ ।
वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत राजन केसीले भने, “सेवाग्राहीलाई उपचारमा सहजता दिलाउन यो व्यवस्था प्रभावकारी हुनेछ। बिरामीले रातमा समस्या आइपरेमा फोनमार्फत पनि सिधै ड्यूटी अफिसरसँग सम्पर्क गर्न पाउनेछन् ।”
सुधारका अभियान निरन्तर
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठका अनुसार, सीमित जनशक्ति र स्रोत साधनलाई अधिकतम उपयोग गर्दै गुणस्तरीय सेवा दिन निरन्तर सुधारका अभियान सञ्चालन भइरहेको छ ।
उनले भने, “नविनतम प्रविधि, दक्ष जनशक्ति र नयाँ अभ्यासमार्फत सेवाग्राहीलाई सुविधा दिने हाम्रो प्राथमिकता हो। यो प्रणाली पनि त्यसै प्रयासको एक हिस्सा हो ।”
लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवामा विविध सुधारका कार्यक्रम ल्याउँदै आएको छ । विशेषज्ञ सेवा विस्तार, आकस्मिक कक्षको स्तरोन्नति, सुविधासम्पन्न उपकरण थप्ने लगायतका कदमसँगै अब रात्रीकालीन सेवामा छुट्टै ड्यूटी अफिसर राख्ने अभ्यासले सरकारी अस्पतालमै नयाँ उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।