© २०२३
काठमाडौँ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा समग्र रूपमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) परिसूचक अघिल्लो दिनको तुलनामा २७.१४ अंकले घटेर २,७६१ अंकमा झरेको छ ।
कारोबारको क्रममा नेप्से सूचक एक समय २,८०३ अंकसम्म पुगे पनि त्यसपछि बजार निरन्तर ओरालो लाग्दै अन्तिमसम्म गिरावटमै रहेको हो । सेन्सिटिभ र फ्लोट सूचकहरू समेत घटेका छन् ।
सूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको देखिन्छ । आइतबार ५८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १९१ कम्पनीको मूल्य घटेको छ । सूचीकृत सबै समूहका सूचकमा गिरावट देखिएको छ ।
सबैभन्दा बढी व्यापार समूहमा १.६४ प्रतिशतले गिरावट आएको छ भने अन्य, माइक्रोफाइनान्स, बैंकिङ, उत्पादन तथा प्रशोधन, फाइनान्स, लगानी, जीवन बीमा, हाइड्रोपावर, निर्जीवन बीमा, विकास बैंक तथा होटल तथा पर्यटन समूहमा समेत गिरावट देखिएको छ ।
यस दिन केही कम्पनीहरूको सेयर मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ६.२९ प्रतिशतले बढेको छ भने कालिका पावर, अपर हेवाखोला, मनकामना इन्जिनियरिङ र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ ।
त्यस्तै, सम्पदा लघुवित्तको मूल्य ७.०६ प्रतिशतले घटेको छ भने ट्रेड टावर, ग्रिन डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, सान्भी इनर्जी, महिला लघुवित्त र स्वेतगंगा हाइड्रोपावरको मूल्यमा समेत गिरावट देखिएको छ ।
आइतबारको कारोबारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा परेका छन् ।