© २०२३
गुल्मी, ०१ भदौ ।
गुल्मी दरबार गाउँपालिकामा बसाइँ सराइ गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ७५ घरपरिवारले बसाइँ सराइ गरेर अन्यत्र गएको गाउँपालिकाले जनाएको छ । एक आर्थिक वर्षमा पाँच परिवार मात्र बसाइँ सरेर आएको बताइएको छ । गत वर्षको तुलनामा बर्सेनि बसाइँ सराइ गर्नेहरूको सङ्ख्या बढ्दै गएको पालिकाले जनाएको छ ।
अधिकांश युवाहरू वैदेशिक रोजगारीको लागि बाहिर जाने र गाउँमा रहेका उनका श्रीमतीहरू पनि बिस्तारै बिस्तारै बालबच्चा पढाउन भन्दै सुविधायुक्त सहर तिर जाने भएका कारण गाउँपालिकामा बसाइँ सराइ गर्ने क्रम बढ्दै जान थालेको छ ।
गाउँपालिकाले बसाइँ सराइ रोक्नका लागि गाउँका टोल टोल र घरघरमा विकासका योजनाहरू पुराएपछि बसाइँ सर्ने क्रम भने नरोकिएको गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले बताए । गुल्मीदरवार गाउँपालिकामा गत वर्ष पाँच सय ५२ जनाले जन्म दर्ता, दुई सय ८५ जनाले मृत्यु दर्ता र दुई सय ९० जनाले विवाह दर्ता गरेका छन् ।
पालिकाले वार्षिक बजेट तथा कार्यक्रममा पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिँदै आएको छ । पालिकाले गत आर्थिक वर्षमा १७६ योजना सम्पन्न गरेको जनाएको छ । गुल्मी दरबारले गत अर्थिक वर्षमा चालु तर्फ ८७.६९ र पुँजीगत ८४.८४ गरी कुल ८६.२६ प्रतिशत बजेट खर्च गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरेले जानकारी दिएका छन् ।
पालिकाले विभिन्न १९ वटा शीर्षकमा गरेर ९९ लाख १८ हजार राजश्व सङ्कलन गरेको छ । अहिलेसम्म गाउँपालिकामा आठ सय १९ व्यावसायिक फर्महरू दर्ता भएका छन् । गाउँपालिकाले गत वर्ष १३ करोड ३३ लाख पाँच हजार ३१३ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
जस अन्तर्गत गाउँपालिकाले ३९ जना नागरिकलाई मासिक एक हजार रुपैयाँका दरले अविवाहित भत्ता उपलब्ध गराउँदै आएको छ । पालिकाले अध्यक्षसँग बालबालिका, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, लैङ्गिक हिंसा विरुद्धको अभियान, ज्येष्ठ र दलित नागरिक सम्मान, टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण, बजार अनुगमनका साथै महिला लक्षित कार्यक्रम अन्तर्गत मेसिनबाट दुना टपरी बनाउने तालिम प्रदान गरेको गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले बताइन ।
स्वास्थ्य तर्फ पूर्ण खोप, पोषण र पूर्ण संस्थागत पालिका सुनिश्चितसँगै प्रजनन रुग्णता, सुरक्षित गर्भपतन, परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्य लगायतका कार्यक्रमहरू सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी गराए ।
कृषि तर्फ उत्पादनमा आधारित अनुदान वितरण, सम्मान, अभिमुखीकरण, बिउ, मल औजार र सामग्री वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले यस्ता प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिने र तिनलाई कार्यान्वयन गर्दै जाने पालिकाको नीति रहेको बताएका छन् ।