© २०२३
काठमाडौँ, १ भदौ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०७२’ स्वीकृत गरेको छ । किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारेर अवैध रूपमा डिम्ब बेचबिखन गरिएको घटना सार्वजनिक भएपछि सरकारले यो मापदण्ड लागू गरेको हो ।
मापदण्डले नेपालमा निःसन्तान उपचार सेवा र यसका लागि आवश्यक प्रयोगशाला, जनशक्ति व्यवस्थापन तथा संवेदनशील मानिएको शुक्रकिट तथा अण्डा दान प्रक्रिया व्यवस्थित हुने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।
नयाँ मापदण्डअनुसार एक महिलाले आफ्नो जीवनकालमा बढीमा ६ पटकसम्म मात्र डिम्ब दान गर्न पाउनेछिन् । दाताको उमेर २० देखि ३५ वर्षबीचको हुनुपर्नेछ । डिम्ब दान गर्नु अघि महिलालाई सम्भावित स्वास्थ्य जोखिमबारे स्पष्ट जानकारी दिई लिखित सहमति अनिवार्य लिने व्यवस्था गरिएको छ । विवाहित महिलाको हकमा श्रीमान्–श्रीमती दुवैको सहमति आवश्यक हुनेछ ।
प्रलोभनमा पारी वा दबावमा राखी डिम्ब दान गराउन पूर्णरूपमा निषेध गरिएको छ । यस्तै यो मापदण्डले निःसन्तान उपचार केन्द्रहरूको कानूनी आधारमा प्रभावकारी नियमन र निःसन्तान उपचार सेवामा एकरूपता ल्याउने मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।