© २०२३
बर्दिया, १ भदौ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले गत आर्थिक वर्ष ०८१/०८२ मा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनविरुद्ध कडाइ गरेपछि ९३ लाख ६७ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार सो अवधिमा १२ हजार ३ सय २५ वटा सवारीसाधन कारबाहीमा परेका थिए । तीमध्ये बस ९ सय ८, ट्रक २ हजार ४ सय ९४, मोटरसाइकल ५ हजार ३१, ट्र्याक्टर ९ सय ७७, अटो १ हजार १ सय ७४ र जिप–कार १ हजार ६ सय ४१ रहेका छन् ।
ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुधीर कुमार खड्काका अनुसार चालकहरूले अनलाइनमार्फत जरिवाना तिर्न थालेपछि कार्यालयमा प्रत्यक्ष देखिने राजस्व अघिल्लो वर्षको तुलनामा केही कम भएको हो ।
आर्थिक वर्ष ०८०/०८१ मा ट्राफिक कारबाहीमार्फत १ करोड १२ लाख १४ हजार ५ सय रुपैयाँ सङ्कलन भएको थियो । प्रहरी निरीक्षक खड्काले भने, “हामीले सडक दुर्घटनाको न्यूनीकरण र नियम पालनामा जोड दिएका छौँ । मात्र राजस्व सङ्कलन हाम्रो लक्ष्य होइन ।”
गत वर्ष ट्राफिक प्रहरीले ८ सय २२ पटक सचेतना कार्यक्रम सञ्चालन गरेको थियो, जसबाट करिब ३५ हजार नागरिक लाभान्वित भएका छन् । स्कूलस्तरदेखि समुदायसम्म गरिएको अभियानले सडकमा नियम उल्लङ्घन गर्ने प्रवृत्तिमा गिरावट आएको उनले बताए ।
उनका अनुसार सिट क्षमताभन्दा बढी यात्रु राख्ने, तीव्र गतिमा सवारी हाँक्ने, ओभर लोड गर्ने, छतमा यात्रु वा सामान राख्ने र मापसे गरेर सवारी चलाउने घटनामा उल्लेखनीय कमी आएको छ ।
पछिल्ला तीन वर्षमा बर्दियामा २ सय ६२ वटा सडक दुर्घटनामा १ सय ५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । आर्थिक वर्ष ०८०/०८१ मा दुर्घटनाको सङ्ख्या बढेर ४ सय ८२ पुगे पनि मृतक सङ्ख्या घटेर ३८ मा सीमित भएको हो । मृतकमध्ये २७ पुरुष, ४ महिला, ४ बालक र १ बालिका रहेका छन् ।
हुलाकी राजमार्गसहितका सडक खण्डमा ट्राफिक प्रहरीको नियमित चेकजाँच भइरहेको छ । साथै, चालकको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम तथा कक्षाहरू सञ्चालन भइरहेका छन् ।
प्रहरी निरीक्षक खड्काले भने, “जबसम्म पैदलयात्री, साइकल यात्री, चालक र यात्रु स्वयं अनुशासित हुँदैनन्, तबसम्म दुर्घटनाको दर घट्दैन । त्यसैले हामी सबैलाई सहभागी बनाएर दुर्घटना न्यूनीकरणतर्फ अघि बढिरहेका छौँ ।”