दाङ, १ भदौ ।
दाङ प्रहरीले विभिन्न कसुरमा दोषी ठहर भएका फरार १६ जना प्रतिवादीलाई बितेको एक महिनामा पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले आईतबार आयोजना गरेको मासिक पत्रकार भेटघाटमा विभिन्न समयमा अदालतबाट फैसला भई दोषी ठहर भई सजाय भुक्तान गर्नुपर्नेमा फरार रहेका त्यस्ता व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले फरार रहेकामध्ये २० वर्षपछि १ जना, १० वर्षपछि २ जना, ५ वर्षभन्दा कम अवधिका १३ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार, पक्राउ परेकाहरुबाट २० वर्ष ५ महिना १५ दिन कैद असुल उपर हुनेछ भने ३४ लाख ९६ हजार ४ सय १९ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ ।
साउन महिनामा लागु औषध ब्राउन सुगर ५ ग्राम ९ सय ९० मिलिग्राम बरामद गरी ७ वटा मुद्दा दर्ता गर्दा १० जना पक्राउ परेका उनलेे जानकारी दिए ।
यसैगरी, एक महिनामा विभिन्न स्थानमा गरिएको सवारी जाँचबाट १५ लाख ७९ हजार ५ सय रुपैयाँ राजश्व उठेको पनि उनले जानकारी दिए । जस अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ७ सय ७० सवारी साधन कारवाही गर्दा ७९ हजार ५ सय, इलाका प्रहरी कायाृल्य तुलसीपुरले ४ सय ४० सवारी साधन कारवाही गर्दा ४५ हजार ५ सय, इलाका प्रहरी कार्यालय गढवाले २७ सवारी साधन कारवाही गर्दा ३० हजार ५ सय, इलाका प्रहरी कार्यालय भालुवाङले १ सय १३ सवारी साधन कारवाही गर्दा १ लाख ११ हजार, वडा प्रहरी कार्यालय लमहीले १ सय १८ सवारी साधन कारवाही गर्दा १ लाख २ हजार ५ सय, इलाका प्रहरी कार्यालय अमिलियाले ४० सवारी साधन कारवाही गर्दा ४४ हजार ५ सय र इलाका प्रहरी कार्यालय खिलतपुरले ३१ सवारी साधन कारवाही गर्दा ४० हजार ५ सय राजश्व संकलन गरेको छ ।
जिल्लामा साउन महिनामा जातका आधारमा १ सय ४५ उजुरी परेका पनि उनले बताए । ब्राह्मण क्षेत्रीका ३९ वटा, जनजातिका ५२ वटा, मधेशीका १० वटा, दलितका ३८ वटा, मुस्लिमका ६ वटा गरी १ सय ४५ उजुरी परेको बताए ।
यसरी उजुरी पर्नेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका अन्तरगतका रहेका छन् । घोराहीको ५३ वटा, तुलसीपुरको ४० वटा, बंगलाचुलीका १० वटा, दंगीशरणका ९ वटा, शान्तिनगर र बबईका ७–७ वटा, राप्तीका ६ वटा, गढवाका ४ वटा, लमही र राजपुरका ३–३ वटा तथा अन्य १३ वटा उजुरी परेको उनलेे बताए ।
यसैगरी, पछिल्लो समय समुदायमा आत्महत्याका घटना उल्लेख्य रुपमा बढेको पनि उनले बताए । बितेको एक महिनामा मात्रै २५ जनाले आत्महत्या गरेका छन् ।